वीरेन्द्रनगरमा वाकिङ स्ट्रिटको अवधारणा

स्काई न्यूज /भदौं ८, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले ‘वीरेन्द्रचोकदेखि भानुपार्क हुँदै गणेशचोकसम्म’ वाकिङ स्ट्रिट बनाउने योजना अघि सारेको छ । संघले वीरेन्द्रनगरको संस्कार संस्कृतिकालाई प्रवद्र्धन उद्देश्यले वाकिङ स्ट्रिट फुड फेष्टिबलदेखि ‘रोड शो’ सञ्चालन गर्ने अवधारणा अघि सारेको हो ।
वीरेन्द्रनगर नगपालिका–६, का निर्वाचित प्रतिनिधि तथा कर्मचारीसंगको बैठकमा संघले बजार क्षेत्रको व्यापार तथा रौनकता कायम राख्न यस्तो अवधारणा अघि सारेको छ । संघले वीरेन्द्रचोकदेखि पिपल चौतारा हुँदै भानुपार्कबाट गणेशचोक पुलसम्म सवारीसाधनलाई प्रवेश निषेध गरी सडक वरपर विभिन्न परिकारका खानाका पसल तथा स्टल राख्ने र ठाउँ–ठाउँमा नाचगानसहितका प्रस्तुति रहने बताएको छ ।
साँझको समयमा सपरिवार डुल्दैघुम्दै विभिन्न परिकारको स्वाद लिनपनि मिल्नुका साथै हराउँदै गएको पिपलचौतारा र गणेशचोकको व्यापारिक माहौल फेरि फर्किने विश्वास लिएको संघका प्रवन्ध निर्देशक गणेश कार्कीले बताए । उनले वाकिङ स्ट्रिट र स्ट्रिट फुड फेष्टिबलका लागि आवश्यक नीति नियम र पूर्वाधार तयार गरिदिन नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको जनाए ।
उनका अनुसार वीरेन्द्रनगरको फोहोर र ट्राफिक व्यवस्थापनका लागि पनि वडा कार्यालयसंग मिलेर संयुक्त अभियान सञ्चालन गर्ने निर्णय भएको छ । ट्राफिक तथा सवारी व्यवस्थापनका लागि वीरेन्द्रनगर भित्रका साँघुरा र अति व्यस्त रहने सडकहरुलाई वन वे बनाउने एवं उपयुक्त ठाउँमा पार्किङका लागि पूर्वाधार बनाउन पहल गर्ने निर्णय समेत भएको प्रबन्ध निर्देशक कार्कीले स्काई न्यूजलाई जानकारी दिए ।

‘बजार क्षेत्रमा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न फोहोर संकलन गर्ने गाडीलाई नियमित गराई आवश्यक्ता अनुसार संख्या र पालो बढाउने सहमति भएको छ,’ उनले भने, ‘बजारमा जथाभावी फालिने फोहोर व्यवस्थापनका लागि वृहत अभियान सञ्चालन गर्न वडा सदस्य कृष्ण श्रेष्ठ र संघका वरिष्ठ उपाध्यक्ष गणेशकुमार वस्नेत सह–संयोजक रहेको समिति गठन गरिएको छ ।’
उनले पिपल चौतारीमा हुने सार्वजनिक कार्यक्रमहरुका कारण आसपासका विद्यालयको पढाईका साथै सवारी आवागमनमा हुने समस्यालाई खुला सभा, सम्मेलनका लागि घण्टाघरदेखि पश्चिमको खुला स्थानलाई प्रयोग गर्न सुझाव दिने बैठकले निर्णय गरेको बताए ।
उनका अनुसार बजार क्षेत्रमा हुने आपराधिक गतिविधि रोक्न अत्याधुनिक सीसी क्यामेरा जडानका लागि नगरपालिकालाई आग्रह गर्ने र बैंक तथा पसलहरुमा राखिएका सीसी क्यामेरालाई बजार क्षेत्रको पनि निगरानी गर्न मिल्ने गरी जडान गर्ने सहमति भएको छ ।
बैठकमा वडाध्यक्ष जनक रावल र संघका अध्यक्ष लक्ष्मण कंडेल लगायत दुबैपक्षका पदाधिकारीहरुको सहभागिता रहेको महासचिव भद्र भण्डारीले जानकारी दिए ।