२०८३ कात्तिक २८ , शुक्रबार
Sky News Nepal
November 13, 2026

कर्णालीमा सधै इन्धन अभाव : इन्धन भण्डारण निर्माण योजना अलपत्र



स्काई न्यूज/ भदौं ८, सुर्खेत । कर्णालीमा इन्धन भण्डारण नहुँदा प्रायजसो पेट्रोल, डिजेलको अभाव हुँदै आएको छ । भण्डारण नहुँदा लुम्विनी प्रदेशको नेपालगञ्ज डिपोबाट ट्याङकर मार्फत सिधै (विक्री स्थल) पेट्रोलपम्ममा इन्धन डाइभर्ट गर्नुपर्ने बाध्यताले अभाव हुँदै आएको हो । आपतकालीन अवस्थामा समेत अर्को प्रदेशको डिपोबाट इन्धन लिनुपर्ने बाध्यता अहिलेपनि कर्णालीमा कायमै रहेको छ । सात प्रदेशमध्ये कर्णाली प्रदेशमा भण्डारण गृह (डिपो) छैन । सरकारले संघीय संरचना अनुसार सातै प्रदेशमा इन्धन भन्डारण क्षमता विस्तार गर्ने योजना ल्याएपनि त्यो कर्णालीमा लागु हुन सकेको छैन् । निगमले मुलुकका अन्य प्रदेशमा इन्धन भण्डार बनाए पनि कर्णालीमा नबनाउँदा यस क्षेत्रका व्यवसायी र उपभोक्ता मर्कामा परेका छन् । नेपाल आयल निगमले बजेट अभावका कारण कर्णलीमा इन्धन भण्डारण क्षमता विस्तार योजना अधुरो भएको जनाएको छ ।

निगमका सुर्खेत स्थित प्रादेशिक कार्यालयका प्रमुख राजकुमार केसीले कर्णालीमा इन्धन भण्डारण गृह निर्माण कार्यका लागि बजेट अभाव भएपछि काम रोकियो बताए । उनले प्रदेशमा खपत हुने इन्धनको उपलब्धता र वितरणको व्यवस्था मिलाउन डिपो निर्माण गरी क्षमता विस्तार गर्न लागिएको भएपनि हाल बजेट अभावले अघि बढ्न नसकेको जनाए । उनका अनुसार रकम अभावले सुर्खेतमा निर्णाण गरिने भनिएको इन्धन भण्डारण गृह निर्माण कार्य अहिले अलपत्र परेको छ । कर्णालीमा पेट्रोल, डिजेलको भण्डारण नहुँदा उपभोक्ता लिटरमा १०/१५ रुपैयाँ बढी तिर्न बाध्य छन् ।

कालीकोटमा मस्तमाण्डु पेट्रोल पम्प सञ्चालन गरिररहेका हस्तबहादुर बमले नेपालगन्जबाट पेट्रोलियम पदार्थ लगेर बिक्री गर्छन् । प्रदेशमा इन्धन भण्डार नहुँदा उनले निगमको नेपालगन्ज डिपोबाट डिजेल, पेट्रोल ढुवानी गर्दे आईरहेका छन् । अढाई सय किलोमिटर टाढाबाट इन्धन ढुवानी गर्नु पर्दा व्यवसायीलाई झन्झट छ भने उपभोक्तालाई महँगोमा पेट्रोलियम पदार्थ किन्नुपर्ने बाध्यता रहेको छ । ‘ढुवानी खर्च धेरै लागेकाले महँगो भएको हो,’ बमले भने, ‘कर्णालीमा इन्धन भण्डार नहुँदा अर्को प्रदेशबाट ढुवानी गरेर ल्याईएकाले इन्धन महँगो हुन पुगेको हो ।’ कालीकोटको जस्तो समस्या प्रदेशका अन्य जिल्लामा समेत रहेको छ । निगमको प्रादेशिक कार्यालय सुर्खेतमा भएपनि भण्डारण स्थल सहितको डिपो नहुँदा समस्या भएको हो ।

सुर्खेत डिपोले ट्यांकर ल्याएर सिधै डाइभर्ट गरेर पम्प सञ्चालकलाई दिएपनि कपितयले नेपालगन्जबाट किन्ने गरेका छन् । विकासमा पछि परेको कर्णालीमा सडक निर्माण भएसँगै सवारी साधनको चाप र इन्धनको माग दिनप्रतिदिन बढ्दो छ । कुनै प्राकृतिक प्रकोप, तथा अन्य कारणले ढुवानीमा समस्या आउने वित्तिकै भण्डारण अभावमा ठूलो समस्या व्यर्होनु पर्ने अवस्था रहेको निगमका सुर्खेत स्थित कार्यालय प्रमुख केसीले बताए । मौज्दात राख्ने भण्डारण अभावमा नेपालगन्जबाट एक दिन ढुवानी नहुँदा प्रदेशमा इन्धन अभाव हुने गरेको उनको भनाइ छ । सुर्खेतमा मट्टीतेल ४५ हजार लिटर, हवाई इन्धन ६० हजार लिटरको भण्डारण क्षमता रहेपनि धेरै खपत हुने डिजेल र पेट्रोलको भण्डारण स्थल छैन । कर्णालीमा पेट्रोल दैनिक ५० हजार र डिजेल सवा लाख लिटर खपत हुने गरेको छ ।

प्रकाशित मिति : २०७९ भदौ ९ गते बिहीबार
Translate »