सुर्खेतमा घुस लिनेदिने दुबै जना पक्राउ

स्काई न्यूज /भदौं १०, सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले घुस लिनेदिने दबै जनालाई पक्राउ गरेको छ । आयोगले शुक्रबार वीरेन्द्रनगरबाट घुस लिने यातायात व्यवस्था कार्यालय सुर्खेतका मेकाँनिकल ईन्जिनियर दिपक बम र सेवाग्राहीका तर्फबाट घुस दिने विचौलिया निरकबहादुर शाहीलाई रंगेहात पक्राउ गरेको हो ।
मिनिबसको ब्लूबुक नवीकरण, जाँचपास नवीकरण र रुटपरमिट नविकरणको कागजात मिलाई दिने बहानामा सेवाग्राहीबाट घुस वापतको ३ हजार रुपैयाँ नगद सहित दुवै जनालाई नियन्त्रणमा लिएर कार्वाहीका लागि आवश्यक अनुसन्धान शुरु गरिएको आयोगको सुर्खेत कार्यालयले जनाएको छ । मिनिबसको कागजात मिलाई दिने नाममा ईन्जिनियर बम र विचौलिया शाहीले सेवाग्राहीसँग रिसवत मागिरहेको गोप्य सूचना पाएपछि अख्तियारको टोली यातायात परिसरमा पुगेको थियो ।

विचौलिया शाहीले ईन्जिनियर बमलाई यातायात कार्यालय परिसरभित्र घुस वापतको रकम दिईसकेको अवस्थामा फेला पारेपछि अख्तियारले दुबै जनालाई पक्राउ गरेको हो ।