बरामद अबैध चिनी प्रहरी कार्यालयबाटै गायब भएपछि डीआईजी आचार्यद्वारा एसपीसँग स्पष्टिकरण माग

भदौं १४, कैलाली । प्रहरीमा यतीसम्म बेथिती बढेको छ कि बरामद भएका सामान नै प्रहरी कार्यालयबाट हराउन थालेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले बरामद गरेको करिब ९०० किलो चिनी कार्यालयबाटै हराएपछि प्रहरीको टाउँको दुःखाई शुरु भएको हो । भारतबाट अवैध रुपमा भित्र्याईएको बरामद चिनी हराएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले कैलालीका एसपी सोमेन्द्रसिंह राठौरसँग मौखिक स्पष्टीकरण मागेका छन् ।

डीआईजीले एसपी राठौरलाई जवाफसहित प्रदेश प्रहरी कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन् । प्रहरी स्रोतकाअनुसार डीआईजी आचार्यले एसपी राठौरलाई मंगलबार बेलुकी ५ बजेसम्ममा प्रदेश प्रहरी कार्यालयमा आइपुग्न भनेका छन् । भदौ ८ गते राति करीब साढे ११ बजेको समयमा भारतबाट अवैध रुपमा अटो रिक्सामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले ५० किलो तौलका १८ बोरा चिनी प्रहरी नायब निरीक्षक (सई) मदन धामी नेतृत्वको टोलीले बरामद गरेको थियो ।

रातभर जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको चिनी बिहानपख नभेटिएको र भन्सारमा बुझाइएको रेकर्ड पनि नभएकाले प्रहरीले तस्करलाई नै फिर्ता गरिदिएको आरोप लागेको छ । एसपी राठौरकै निर्देशनमा तस्करीको चिनी सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिएको आरोप लागेको छ । एसपीकै मिलेमतोमा चिनी हराएको प्रहरी अधिकारीले बताएका छन् । सइ मदन धामी नेतृत्वको प्रहरीले चिनी बरामद गरेको र एसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा गायब बनाएको आरोप लागेको छ । प्रारम्भिक छानबिनमा प्रहरी लापरबाही देखिएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । छानबिन सुरु भएपछि भन्सारमा चिनी बुझाएको विवरण तयार पार्न चलखेल भइरहेको स्रोत बताउँछ ।

Translate »