चाडपर्व लक्षित बजार अनुगमन : कालोबजारी रोक्न जुट्यो वीरेन्द्रनगर

स्काई न्यूज /भदौं १४, सुर्खेत । सुर्खेत सदरमुकाम स्थित वीरेन्द्रनगर नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमनलाई प्रभावकारी बनाउन सरोकारवालाहरुसँग छलफल शुरु गरेको छ । चाडपर्वको समयमा मूल्यवृद्धि, म्याद सकेका खाद्यान्न, कालोबजारीलगायतका अनैतिक कार्य अपेक्षाकृत बढी हुने भएकाले बजार अनुगमनलाई प्रभावकारी बनाउन सरोकारवालाहरुसँग छलफल शुरु गरेको हो । चाडपर्व लक्षित बजार अनुगमनका लागि वीरेन्द्रनगरले एक्सन प्लान तयार गरेर कार्यान्वयनमा ल्याउन लागेको छ ।

बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति अन्तर्गतको बजार अनुगमन समितिले खाद्यान्नदेखि लत्ताकपडासम्मको अनुगमन गर्ने तयारी गरेको हो । ‘चाडपर्व लक्षित बजार अनुगमनका लागि हाल उपलब्ध रहेको रिसोर्सलाई व्यवस्थित तरिकाले परिचालन गरि परिणाममुखी कामको अपेक्षा गरेका छौं,’ वीनपाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले भने, ‘बजार अनुगमनलाई थप प्रभावकारी बनाउन आवश्यक बजेटसँगै उपभोक्ता सचेतना फैलाएर अनुचित कार्यलाई दण्डात्मक कार्य सँगैसँगै अगाडि बढाउने छौं ।’

उनले मुलहः अहिलेको चाडपर्व लक्षित बजार अनुगमनलाई परिणाममुखि बनाउन अतिरिक्त जनशक्तिसँगै अन्य सरोकारवाला निकायसँग सहयोग तथा समन्वय गरेर अगाडि बढ्ने जनाए । उनका अनुसार नगरक्षेत्र भित्र कुनैपनि उपभोक्ता हितविपरितका कार्य रोक्नका लागि जतिबेला पनि बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण ऐन २०७६, आकर्षित हुनेछ । यता वीनपाका उपप्रमुख निलकण्ठ खनालको अध्यक्षतामा शुरु भएको छफलफलमा बजारलाई व्यवस्थित र सभ्य बनाउन सरोकारवाला सबैको भूमिकालाई  प्रभावकारी बनाउन आवश्यक रहेको औल्याएको छ ।

छलफलमा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले कानूनले प्रतिबन्धित गरेको व्यापार व्यवसाय गर्ने जोकोहीलाई संघले साथ नदिने स्पष्ट पारे । ‘बजार अनुगमन अपरिहार्य हो, तर, अनुगमनका नाममा अनाहकमा व्यापारीलाई तर्रासाउने, धम्काउने र फसाउने कार्यको हामी भत्र्सना गछौं,’ उनले भने, ‘बजारलाई उपभोक्तामैत्री सभ्य ंबनाउन सुउवासंघ निरन्तर प्रयासरत रहेकाले सरकारी नियमनकारी निकायसँग हातेमालो गर्न तयार छौं ।’ उनले बजारमा केही कानून, ऐन, नियम नबुझेका व्यवसाय समेत रहेकाले पहिले सचेतना फैलाउँदै दण्डात्मक कार्यलाई अगाडि बढाउन उपयुक्त हुने सुझाव दिए ।

छलफलमा सुउवासंघका महासचिव भद्र भण्डारीले बजार अनुगमन चाडपर्व लक्षित मात्र केन्द्रित नबाएर वर्षभरी नै योजनाबद्ध तरिकाले उपभोक्तासँगै व्यवसायलाई समेत सचेतना फैलाउन आवश्यक रहेको औल्याए । उनले बजार व्यवस्थापनमा हाल केही कमीकमजोरी देखिएकाले तत्कालै वीनपाले देखिने गरि प्रभावकारी कार्य गर्न आग्रह गरे । उनका अनुसार पार्किङ्ग व्यवस्थापन, सरसफाई, वन वे रोडको अवधारण र सभा सम्मेलन स्थलको तत्काल टुङ्गो लगाईनु पर्छ । जिल्ला ट्राफिक तथा नगर प्रहरी कार्यालयका प्रतिनिधिहरुले पार्किङ्ग व्यवस्थापनका लागि स्थलको निर्धारण, ट्राफिक संकेत तथा रात्रीकालिन समयमा हाईमाक्र्स लाईट अपग्रेडलगायत सीसीक्यामेरांलाई चुस्तदुरुस्त राख्न सुझाव दिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर थापाले तत्काल वीनपाले कम्तीमा पनि एउटा आफ्नै खाद्य निरीक्षक नियुक्त गरि आफ्नै ऐन, नियममा टेकेर बजार अनुगमनलाई प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गरे । उनले वीनपाका लागि प्राविधिक सहयोगका लागि आफ्नो कार्यालयबाट जतिबेला पनि सहयोग गर्न सकिने जनाए । उता उपभोक्ताकर्मीहरुले भने बजार अनुगमनलाई कर्मकाण्डी नबनाई उपभोक्ता हितको संरक्षणका लागि वीनपाले उपभोक्ता सचेतनासँगै देखिने गरी दण्डात्मक अभियानलाई अगाडि बढाउन सुझाव दिए ।

छलफलमा उपप्रमुख खनालले बजार अनुगमनले उपभोक्ता सचेतनामात्र होइन, राज्यको नै उपस्थिति जनाउने भएकाले सबै सरकारी निकायहरुसँग समन्वय तथा सहयोग लिएर अगाडि बढ्ने बताए । उनले बजार अनुगमन प्रभावकारी बनाउन वीनपाका तर्फबाट चाहिने आवश्यक बजेट, जनशक्तिसँगै उपभोक्ता अधिकार सुनिश्चित गराउन कुनै कसर बाँकी नराखिने प्रतिवद्धता व्यक्त गरे ।

घुमन्ते व्यापारीलाई निषेध
घुमन्ते व्यापारीका कारण उपभोक्ता ठगिएका गुनासा आउन थालेपछि वीनपाले नगरभित्र अवैध विक्री वितरण गर्न निषेध गर्ने बारे छलफल शुरु गरेको छ । विशेषगरी औषधि, खाद्यवस्तु, लत्ताकपडा बिक्री गर्दै सडकमा हिँड्ने व्यापारीबाट उपभोक्ता ठगिएको गुनासा आउन थालेपछि विक्री वितरणमा रोक लगाउने बारेमा छलफल शुरु गरेको हो ।

घुमन्ते व्यापारीले झोलामा बोकेर डुलाउँदै बेचिरहेकाबाट खरिद गरिएका सामाग्रीबाट उपभोक्ता नराम्रो तरिकाले ठगिने भएकाले सचेतनासँगै त्यस्ता व्यापारीलाई नियन्त्रणमा लिने वीनपाले बताएको छ । घुमन्ते व्यापारीले राज्यलाई राजश्वमा समेत नतिर्ने भएकाले गुणस्तरहिन वस्तुबाट उपभोक्तालाई समेत हानि नोक्सानी भईरहेकाले उजुरी आएपछि प्रहरीले यसअघि नै अबैध व्यापार गर्ने माथि नियन्त्रण गर्दै आईरहेको छ ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले उत्पादन मितिसहितको लेबल नभएका एवं खरिद तथा बिक्री बिल नभएका त्यस्ता घुम्ती व्यापारीलाई नियन्त्रण गर्ने काम स्थानीय तहको भएको जनाउँदै त्यस्ता व्यापारीसँग कुनै पनि सामग्री खरिद नगर्न आग्रह गरे । ‘सामान सस्तोमा पाइयो भन्दैमा उपभोक्ताले लेबल नै नभएका, बिल नभएका सामग्री खरिद गर्न नै हुँदैन,’ उनले भने, ‘यसको नियन्त्रणको अधिकार स्थानीय तहमा रहेको छ । उहाँहरु सचेत हुनुपर्छ । उद्योग वाणिज्य संघका तर्फबाट हामी प्रशासन र पालिका दुवैमा सहकार्य गरेर यो समस्या हटाउन लाग्नेछौं ।’

Translate »