बड्डीचौर–गुटु–बेनीघाट सडक : साढे तीन दशक वितिसक्दा अधुरै


स्काई न्यूज /भदौं १६, सुर्खेत । वर्षामा हिलाम्य र सुख्यामा धुलाम्य ग्रामीण सडकहरुको मुख्य समस्या नै हो । अधिकांश जिल्लाका ग्रामीण बस्ती सडक सञ्जालमा जोडिएका छन् । तर, सुर्खेत सदरमुकामदेखि गाउँसम्मका लागि खोलिएका यस्ता ग्रामीण सडकहरुको स्तरोन्नती समयमा नगरिँदा सवारी चालक, यात्रु र स्थानीयले सास्ती भोग्नु परेको छ । सदरमुकाम वीरेनद्रनगरबाट पश्चिम तर्फ जाने बड्डीचौर–गुटु–बेनिघाट सडक निर्माणको साढे तीन दशक विति सक्दा पनि स्तरोन्नती हुन सकेको छैन् । पश्चिम सुर्खेतका कुनाथरी, तरंगा, पोखरीकाँडा, सालकोट, बाबियाचौर, विद्यापुर, तातापानी, घाटगाउँ, गुटु, विजौरा, लगाम र बेतान लगायतका थुप्रै गाउँलाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई जोड्ने बड्डीचौर–गुटु–बेनिघाट सडक निर्माण सुरु भएको साढे तीन दशक बिति सक्दापनि सडकको स्तरोन्नती नहुँदा यस क्षेत्रका स्थानीयले सास्ती व्यहोर्नु परेको हो ।
जनतालाई विकासको गुणस्तरीय पूर्वाधार उपलब्ध गराउन जनप्रतिनिधिले ढिलासुस्ती गर्दा धेरै कष्ठ भोग्नु परेको चौकुने गाउँपालिकाका समाजसेवी गजराज बयकले बताए । उनको घर बड्डीचौर–गुटु–बेनीघाट सडकको छेउमै छ । साढे तीन दशकअघि आफ्नै घरआँगनबाट सडक बन्दा उनको खुशीको सीमा नै थिएन । सडक निर्माण भएपछि उनले अब गाउँको मुहार फेरिने सपना बुनेका थिए । तर, त्यतिबेलाको उनको खुशी आज निराशामा परिणत हुन पुगेको छ । किनभने करिब ३५ वर्ष बितिसक्दा पनि सडकको स्तरोन्नति हुन सकेन् । जिल्लाको सिङ्गो पश्चिम तथा सुदूरपश्चिमको डोटी जिल्लालाई सदरमुकाम वीरेन्द्रनगरसँग जोड्ने प्रमुख सडक मानिएको बड्डीचौर–गुटु–बेनीघाट सडक वर्षौंदेखि स्तरोन्नतीको पखाईमा छ ।
उसैगरी कालोपत्रे गरिएको सडक सहज यात्रा गर्न पाउने दिनको पखाईमा छन् पश्चिम सुर्खेतका नागरिकहरु । तर गजराजले भने, ‘यत्तिका वर्ष बितिसक्यो अहिलेसम्म जस्ताको त्यस्तै छ,’ खै कहिले सुधार होला र यो सडक ?’ सडक निर्माण सुरु भएको करिब अढाई दशक बितिसक्दा पनि सडकको स्तरोन्नति नहुँदा स्थानीयले सास्ती व्यहोर्नु परेको छ । ‘जनतालाई सुविधा दिन बनाइएको सडकले झन् सास्ती दिएको छ,’ गजराजले दुःखेसो पोखें । सडक घाम लागे धुलाम्मे र पानी परे हिलाम्य हुन्छ । अनगिन्ती खाल्डाखुल्टी छन् । कतिपय स्थानमा सडक निकै साँघुरो छ । सवारी साधन सञ्चालन हुँदा उड्ने धुलोले सडक आसपासका घरभरी धुलो भरिन्छ । ‘चिसो सुरु भयो, आँगनमा बसेर घाम तापौं भने पनि धुलोले बसी खान दिदैंन,’ गुटुका समाजसेवी काशीराम देवकोटाले गुनासो गरे ।

सडकको केही भाग ग्राभेल गरिएको छ । तर ग्राभेल गरिएको हो भन्ने पत्याउन मुस्किल छ । किनभने सडकमा गिट्टी भन्दा बढी धुलो छ । देशको नयाँ संरचना अनुसार सडक डिभिजन कार्यालयको कार्यक्रममा नरहेको यस अलपत्र सडकलाई अहिले पूर्व—पश्चिम जोड्ने प्रस्तावित मदन भण्डारी राजमार्गको नाम दिईएको छ । सडक डिभिजन कार्यालयको कार्यक्रममा नरहेको उक्त सडकमा यस वर्ष बड्डीचोरदेखि खम्बागाडेसम्स कर्णाली प्रदेश सरकारले पिच गर्ने बताएको छ । त्यो पनि तोकिएकै समयमा पुरा होला भन्नेमा आशंका रहेको स्थानीय नागरिक बताउँछन् ।
किनभने यसवर्ष प्रदेश र संघीय चुनाव मंसिरमा हुने निश्चित भएकाले राजनीतिक स्वार्थले प्रेरित उक्त आयोजना समयमा पुरा हुनेमा ठूलो शंका रहेको गुटुका प्रकाश बयक बताउँछन् । संघीयता संरचना अनुसार मदन भण्डारी राजमार्ग आयोजनाले बनाउनु पर्ने सडक प्रदेश सरकारले बनाउनु भनेको राजनीति हस्तक्षेप भएकाले तोकिएको समयमा पुरा नहुने बयकको दावी छ । अहिले सडक स्तरोन्नतीको काम न त स्थानीय सरकार गरेको छ न त प्रदेश सरकारले नै गरेको छ । ९४ किलोमिटर लम्वाई रहेको उक्त सडकको स्तरोन्नती नहुँदा सर्वसाधारणलाई आवतजावतमा कठिनाई हुनुका साथै यस क्षेत्रका कृषिजन्य उत्पादनले बजार पाउन सकेका छैनन् । राज्यले सडक स्तरोन्नती गरिदिए सुर्खेतबाट डोटी, अछाम, कैलाली र काठमाडौं जानलाई हाल भन्दा दुरी छोटो पर्ने थियो ।

