मिटर व्याजको जालो तोडौं


अहिले सुर्खेतसहित देशैभर मिटर व्याजको फंदामा आर्थिकरुपले निम्न स्तरका नागरिक फस्ने क्रम जारी छ । यसपनि धेरैजसो किसानले व्यक्तिगत ऋणको फन्दामा परेर सबै सम्पत्ति सिध्याएका छन् । अचम्म त, यसरी फन्दामा पारेर जग्गा हडप्नेमध्ये अधिकांश चिनजानकै र आफन्त छन् । सुर्खेतमा मिटर ब्याजको फन्दामा परेर सिरिखुरी गुमाउनेहरु अधिकांश किसान समुदायका छन् । बैंकबाट लिएको ऋण तिर्नदेखि व्यवसाय गर्न वा छोराछोरी पढाउन पनि चर्को ब्याजदरमा ऋण लिनेले हिसाबकिताब भने दुरुस्त राखेका छैनन् । थोरै समयका लागि ऋण दिएर चर्काे ब्याज लिने गैरकानुनी धन्दा ‘मिटर ब्याज’ को जालोमा कर्णालीका थुप्रै व्यक्ति परेको पाइएको छ । तत्कालै धेरै कमाइने लोभले मिटर ब्याजमा लगानी गरेका र ऋण लिएका दुवै पक्ष अहिले बिचल्लीमा छन् । स्थानीय प्रशासनले उक्त अवैध कारोबारमा पीडित बनेकालाई उजुरी दिन आव्हान गरेपनि त्यस्तो धन्दामा संलग्नहरुको वास्तविक संख्या अझै आउन बाँकी छ । गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार कर्णाली प्रदेशभर मिटर ब्याज कारोबारबाट ठगिएको भन्दै २२ जनाले उजुरी दिएका छन् ।
कर्णाली प्रदेशमा ‘मिटर ब्याज’को नाममा गैरकानुनी धन्दा मौलाएको छ । आर्थिक रूपमा विपन्न व्यक्तिहरूलाई ऋण दिएर त्यसबाट चर्को ब्याज असुल्ने गरिएको हो । त्यति मात्रै होइन परिबन्धमा पारेर उनीहरूको घरजग्गा नै आफ्नो नाममा बनाउने गरेको समेत पाइएको छ । स्थानीय प्रशासनले मिटर ब्याजको अवैध कारोबारबाट पीडितहरूको उजुरी संकलन गर्न थालेपछि त्यस्तो धन्दामा संलग्नहरूको संख्या धमाधम खुल्न थालेको हो । प्रशासन कार्यालयमा आएका उजुरीको विवरण हेर्दा मिटर ब्याजको कारोबार गर्नेहरूले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूलाई ऋण दिएर तीन गुणा बढी रकम असुल्नेदेखि उनीहरूको घरजग्गा नै आफ्नो नाममा बनाउनेसम्म गरेको देखिन्छ । मिटरव्याजीबाट ५० लाख रूपैयाँ ऋण लिएका एक जना उजुरीकर्ताले आफूलाई परिबन्धमा पारेर ८० लाख रूपैयाँको कागज गराइएको उल्लेख गरेका छन् । उनले अर्का एक जना मिटरव्याजीविरुद्ध पनि उजुरी दिएका छन् । जसमा १५ लाख रूपैयाँ ऋण लिएको र हालसम्म १९ लाख रूपैयाँ बुझाइसक्दा पनि धम्क्याएर पैसा माग्ने गरेको उल्लेख गरिएको छ । एउटा अर्को उजुरीमा ११ लाख रूपैयाँ ऋण लिएर सावाँब्याजसहित २५ लाख रूपैयाँ तिरिसक्दा पनि पैसा लिएको छैन भन्दै अदालतमा मुद्दा हालिदिने धम्की दिएको बताइएको छ । त्यसैगरी अर्का उजुरीकर्ताले आठ लाख ऋण लिँदा मासिक एक लाख ६० हजार रूपैयाँ ब्याज तिर्नुपरिरहेको बताएका छन् । उनले ऋण दिएको व्यक्तिले आफूले तिरिरहेको मासिक ब्याजको भरपाइ गर्नसमेत नमानेको उजुरीको विवरणमा जनाएका छन् । उल्टै ११ लाखको तमसुक बनाएर अदालतमा मुद्दा दायर गरेको ती पीडितको गुनासो छ ।

छोटो म्यादमा धेरै ब्याज लिने गैरकानुनी धन्दा ‘मिटर ब्याज’ को जालोमा कर्णालीका थुप्रै व्यक्तिहरू परेको पाइएको छ । तत्कालै धेरै कमाइने लोभले मिटर ब्याजमा लगानी गरेका र ऋण लिएका दुवै पक्ष अहिले बिचल्लीमा छन् । पछिल्लो समय सरकारले यस्तो अवैध कारोबारमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने प्रक्रिया सुरु गरेको छ । यसका लागि अहिले जिल्ला प्रशासन कार्यालयहरूमार्फत उजुरी संकलन कार्य भइरहेको छ । मिटरव्याजीबाट पीडितहरूले प्रशासनमा उजुरी दिएर यस्ता कारोबारमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्नुपर्दछ । यो गैरकानूनी कार्य रोक्न सरकारसँगै आम जनसमुदायको समेत दायित्व उत्तिकै रहन्छ । सबै समयमै जागरुक र सचेत बनेर मिटर व्याजको जालोलाई सदाका लागि अन्त्य गर्नु पर्छ ।

