जुम्लामा अनुदान लिन मात्रै उद्योग दर्ता : न उत्पादन, न रोजगारी
भदौ १८, जुम्ला । उद्योग दर्ताको पहिलो उद्देश्य उत्पादन वृद्धि र रोजगारी सृजना हो । बढ्दो बेरोजगारीलाई कम गर्न, आयात प्रतिस्थापन गर्न, कच्चा पदार्थको प्रशोधन तथा उत्पादन वृद्धिका लागि उद्योग कलकारखाना आवश्यक छ । तर जुम्लामा उद्योग निर्वाहमुखी, नाफामुखी, व्यावसायीकमैत्री र उत्पादनमुखीभन्दा अनुदानमुखी उद्योग बढी छन् ।
अनुदान लिन उद्योग दर्ता गर्ने अनुदान सकिएसँगै उद्योग पनि बन्द गर्ने प्रवृत्तिले नत उत्पादन वृद्धि भएको छ । नत रोजगारी सृजना भएको छ । तथ्यांक अनुसार जुम्लामा गत आव २०७८र०ं७९ मा मात्रै ९ सय ४ वटा उत्पादनमुखी वाणिज्य उद्योग दर्ता भएका छन् । त्यस्तै २०७७र०७८ मा १ हजार ७६ वटा उद्योग एकै वर्षमा दर्ता भएका थिए । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयका अनुसार हालसम्म जुम्लामा उत्पादनमुखीतर्फ ३ हजार ६ सय ६० र वाणिज्यतर्फ २ हजार ९ सय ६० गरी जम्मा ६ हजार ६ सय २० वटा उद्योग दर्ता भएका छन् ।
अनुदान लिन वर्षेनी च्याउ जस्तै दर्ता हुने उद्योगबाट जुम्लाको उत्पादन वृद्धि, फलफूल,तरकारी, जडीबुटी, रैथाने बाली प्रशोधन हुन सकेको छैन । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले भने,‘कृषि, पशु सुपर जोनबाट अनुदान लिन मात्र उद्योग दर्ता गर्ने र सञ्चालन नगर्ने प्रवृत्ति हाबी छ । अधिकांश उद्योग उद्देश्यअनुसार सञ्चालित छैनन् । अनुदानमुखी उद्योगलाई नियमन गर्न खोजिरहेका छौं । तर जनशक्ति र साधनको अभावले अनुगमन निरीक्षणमा समस्या छ ।’
उनका अनुसार गत आवमा ९ सय ४ वटा उद्योग दर्ताबापत २५ लाख ४२ हजार १ सय ५० रुपैयाँ राजश्व संकलन भएको छ । यद्यपि यो तथ्यांक गत आवको भन्दा कम हो । गत आव २०७७/७८ मा उद्योग दर्ता बापत ३१ लख ७४ हजार राजश्व संकलन भएको थियो । अनुदानमुखी उद्योगहरू सरकारी मापदण्डमा सञ्चालनमै नभएकै कारण धेरै सेवा पाउन बाट समेत वञ्चित भएका छन् । रोजगारी सृजना, आर्थिक आम्दानी, उत्पादन वृद्धि र कच्चा पदार्थ प्रशोधन गर्नुभन्दा पनि सरकारी अनुदान तथा सहुलियत पाउनका लागि मात्रै उद्योग दर्ता गरेका कारण जुम्लामा औद्योगीकरण बढ्न सकेको छैन ।
स्थानीय तह र प्रदेश सरकारको कृषि अनुदान, सहुलियत कर्जा पाउनका लागि मात्रै उद्योग दर्ता गर्ने गलत प्रवृत्ति मौलाएपछि जुम्लामा उद्योग दर्ता गुणात्मकभन्दा संख्यात्मक मात्रै बढेको स्पष्ट देखिन्छ । जुम्लामा रहेका ३ हजार ६ सय उत्पादनमुखी उद्योग मध्य मुस्किलले १५ प्रतिशत उद्योग सञ्चालित छन् । निर्वाहमुखी, नाफामुखी र व्यावसायिक मैत्री उद्योगभन्दा अनुदानमुखी उद्योगी भएकाले अनुदान सकिएपश्चात् उद्योगमा ताला ठोक्नेको संख्या बढ्दै गएको छ ।
जुम्लामा दर्ता भएका अधिकांश उद्योग कृषि फर्म, कृषि औजार, कुटानी–पिसानी उद्योग रहेका छन् । अनुदान लिन उद्योगहरू थपिने क्रम बढे पनि उपलब्धि भने शून्य छ ।
उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयका प्रमुख श्रेष्ठले उद्योगको निरीक्षण तथा सिप र प्रविधि दिएका जनशक्तिको अवस्था बारे अध्ययन अवलोकन गर्न गाउँ गाउँमा जाने तयारी गरेको उल्लेख गरे । अनुदानमुखी उद्योगधन्दा तथा व्यवसायीको अन्त्य नभई जुम्लाको आर्थिक समृद्धि सम्भव नरहेको समेत उनको भनाई छ । (रेडियो नेपाल)