२०८३ असोज ११ , आइतबार
Sky News Nepal
September 27, 2026

बजार क्षेत्रको विकासका लागि एकिकृत योजना कार्यान्वयनमा ल्याउँदै वीरेन्द्रनगर



स्काई न्यूज /भदौं २०, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको बजार क्षेत्रलाई व्यवस्थित गर्न एकिकृत विकास योजना कार्यान्वयनमा ल्याउने भएको छ । फोहोरमैला विर्सजन, सडक फुटपाथ, पार्किंङ तथा ट्राफिक व्यवस्थापनलगायत कार्यलाई सबै सरोकारवालाको समन्य तथा सहयोगमा एकीकृत योजना बनाएर बजार क्षेत्रको विकास तथा विस्तार गर्न लागिएको हो । सुर्खेत उद्योग वाणिज्य संघले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख मोहनमाया ढकालले सबै क्षेत्रको सक्रिय सहभागितामा वीरेन्द्रनगरलाई विस्तारित र व्यवस्थित बनाइने बताइन् ।

‘नगरपालिका एक्लैले चाहेर मात्र फोहोरमैला व्यवस्थापनदेखि सडक विस्तार, पार्किंङ तथा ट्राफिक व्यवस्थापन गर्न तत्काल समस्या रहेका छन्,’ उनले भनिन्, ‘नगरवासीसंगै, निजी क्षेत्र र गैरसरकारी संघ संस्थाबीच सहकार्य गरेर बजार क्षेत्रलाई व्यवस्थित र अनुशासित बनाउन नागरिक जवाफदेहिता बढाईने छ ।’ उनले फोहोर मैला व्यवस्थापन नगरपालिकाको जिम्मेवारी भएपनि नागरिकको दायित्व समेत भएको बताईन् । नगरवासीको सक्रिय सहभागिता र सहयोगबिना नगरपालिकाले चाहेर मात्रैपनि फोहोर व्यवस्थापन गर्न नसकिने उनको भनाइ थियो । उनले सरकारी जग्गा सस्तो भाडामा लिएर पसल व्यवसायका लागि फेरि तेश्रो पक्षलाई चर्को भाडामा दिइएको बारेमा समेत अध्ययन् भईरहेको बताईन् । त्यस्ता जग्गा ढिलो चाँडो खाली गराएरै छाडिने उनको भनाइ थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले फोहोर व्यवस्थापन नागरिकको नैतिक जिम्मेवारी र सभ्यताको विषय भएकाले हरेकका पछाडि प्रहरी लगाएर साध्य नहुने टिप्पणी गरे । सरसफाई अभियन्ता एवं बालरोग विशेषज्ञ डा. नवराज केसीले ईच्छा शक्ति भए धेरै ठूला साधन उपकरण बिनापनि आप्mनो गाउँठाउँलाई स्वच्छ, स्वस्थ्य र सफासुग्घर राख्नसकिने बताए ।

संघका वरिष्ठ उपाध्यक्ष गणेशकुमार वस्नतेले पिपलचौतारीदेखि भानुपार्क हुँदै गणेशचोकसम्म पैदलमार्गका रुपमा विकसित गरी सडक छेउमा नाचगानसहित स्ट्रिटफुड फेस्टिबल गर्ने योजना रहेको जानकारी दिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिृत नरहरि तिवारीले सरसफाई नीति एवं कार्यविधि, एसएनभीका पार्वती दंगालले फोहोरमैला तथा सरसफाई व्यवस्थापन, अन्तरनिर्भर समाजका विवेक शाहीले व्यवस्थित ढल,नाला एवं हरित सडक तथा ट्राफिक, पार्किंग तथा सडक व्यवस्थापनबारे ट्राफिक प्रहरी उपरीक्षक भुवेनश्वर तिवारीले आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । वीरेन्द्रनगर नगरपालिकाका समन्वय, ६ नंं वडा कार्यालयको सहआयोजना, एसएनभी नेपाल र अन्तरनिर्भर समाजको सहयोग तथा सुन्दर नेपाल र मित्र समाजको सहजीकरण रहेको कार्यक्रम सुर्खेत उद्योग वाणिज्य संघ अध्यक्ष लक्ष्मण कंँडेलको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०७९ भदौ २० गते सोमबार
Translate »