वैदेशिक रोजगारी : कर्णालीबाट पुनः श्रम स्वीकृति लिनेको संख्या बढ्दै

स्काई न्यूज भदौं ३०, सुर्खेत । कर्णालीबाट वर्षेनी वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो क्रममा रहेको छ । गत आर्थिक वर्ष २०७८/०८९ मा कर्णालीबाट पुनः श्रम स्वीकृति लिनेको संख्या १ हजार ७ सय १५ जना रहेको श्रम तथा रोजगार कार्यालय सुर्खेतले बताएको छ । कार्यालयका अनुसार कोभिड महामारीका कारणले रोकिएको बैदेशिक रोजगारी गत वर्ष ह्वातै ३ सय ३४ दशमलव १७ प्रतिशतले बृद्धि भएको हो । कार्यालयको तथ्यांक अनुसार गत आवमा विदेश जाने महिलाको संख्यामा समेत बृद्धि भएको देखिन्छ ।

गत आर्थिक वर्षमा पुनः श्रम स्वीकृति लिएर विदेश जाने महिलाको संख्या ६ सय १६ प्रतिशतले बृद्धि भएको छ । श्रम कार्यालयका कार्यालय प्रमुख श्रीसमशेर रानाले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने युवायुवतीको संख्या वर्षेनी बढ्दै गईरहेको बताए । उनले कर्णालीमा श्रम रोजगार कार्यालय स्थापना भएसँगै ५ हजार ३ सय ४२ जनाले श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारीका लागि गएको जनाए । उनका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ९२६ जनाले पुनः श्रम स्वीकृती लिएका छन् । आर्थिक वर्ष ०७६/ ०७७ मा दुई हजार २६ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । जसमध्ये एक हजार ९९० पुरुष र ३६ जना महिला थिए । आर्थिक वर्ष ०७७/०७८ मा श्रम स्वीकृति लिनेको ६७५ जना थियो । त्यसमध्ये ६६७ पुरुष र ८ जना महिला थिए ।

कोरोना महामारीका कारण त्यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्यामा कम आएपनि आर्थिक वर्ष २०७८/७९ मा भने यो संख्या बढेर एक हजार ७ सय १५ जना पुगेका छन । ती मध्ये १ हजार ७१५ पुरुष र ४३ जना महिला रहेका छन् । २०७५ साल माघ महिनामा श्रम तथा रोजगार कार्यालय स्थापना भएयता कर्णालीबाटै पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या बर्सेनि बढ्दै गइरहेको हो । यो कार्यालयबाट दोस्रो पटक वैदेशिक रोजगारीमा जानेहरुका लागि मात्रै श्रम स्वीकृति दिने गरिएको छ ।
पछिल्लो समय सहजताका लागि भनेर अनलाइनबाटै श्रम स्वीकृति लिने व्यवस्था मिलाइएको थियो । बायोमेट्रिक नभएका व्यक्तिहरु बाहेक धेरैजसोले अनलाइनबाटै श्रम स्वीकृति लिने गरेका छन् । वैदेशिक रोजगारीमा जानेमा प्रायः सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट लगायतका छन् । यद्यपि पछिल्लो समय अनलाइनबाट श्रम स्वीकृति लिन थालेपछि बाँके, बर्दियाका जिल्लाका व्यक्तिहरुले पनि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीमा जानेहरु प्रायः खाडी मुलुक युएई, साउदी अरब, दुबई, कतार, मलेसियामा जाने गरेका छन् । कोही जापान र बहराइन जस्ता मुलुकहरुमा पनि जाने गरेको छन् ।


तेस्रो मुलुकमा जाने महिला घरेलु कामदारका रुपमा जाने गरेका छन् भने पुरुषहरु विभिन्न कम्पनीमा काम गर्ने प्रयोजनका लागि जाने गरेको देखिन्छ ।
सरकारी एक तथ्याङ्क अनुसार कर्णालीका ५५ प्रतिशत युवा रोजगारीका लागि भारत जाने गरेका छन् । अझ त्यसमध्ये पनि धेरैजसो काला पहाडतिर मौसमी रोजगारीका लागि जाने गर्दछन् । यद्यपि कर्णाली प्रदेश सरकारसँग काला पहाड अर्थात् भारतमा रोजगारीमा जानेहरुको एकीन तथ्याङ्क छैन ।

शिक्षा विकास निर्देशनालयको एक तथ्याङ्क अनुसार प्रदेशका ६७ प्रतिशत बालबालिका कुनै न कुनै श्रम गर्न बाध्य भएको र त्यसमा पनि धेरैजसो बालबालिका भारतका विभिन्न सहरका होटेल, रेष्टुराँदेखि सडक निर्माण योजनामा रोजगारी गर्ने गरेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको श्रम तथा रोजगार शाखाले रोजगार सम्बन्धीका विभिन्न गोष्ठी र तालिममा मात्रै लाखौं रकम खर्च गरे पनि उपलब्धि भने खासै देखिएको छैन ।

प्रदेश सरकारको तथ्याङ्कअनुसार प्रदेशमा २० हजारभन्दा बढी साना उद्योग छन् जसमा ५९ हजार १२५ जनाले रोजगारी पाएका छन् । यद्यपि कम पुँजीमा लगानी गरिएका साना उद्योगबाट पर्याप्त रोजगारीका अवसर सिर्जना हुन सकिरहेका छैनन् । प्रदेश सरकारले स्वरोजगार सिर्जना गर्ने उद्देश्यले सञ्चालनमा ल्याएका मुख्यमन्त्री रोजगार र संघीय सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम उपलब्धिविहीन बनेका छन् । जसले गर्दा रोजगारीका लागि देश छोडेर बाहिर जानेहरुको संख्यामा कमी आउन सकेको छैन ।

Translate »