जलवायु परिवर्तनको असर
पृथ्वीको तापमान वृद्धिबाट भौतिक र आर्थिक असरहरु तीव्र गतिमा बढिरहेको संयुक्त राष्ट्रसङ्घको मौसमसम्बन्धी निकाय डब्ल्यूएमओले बताएको छ । उसका अनुसार अहिलेसम्मकै उच्च तहमा पुगेको हरितगृह ग्यासले विश्वको तापमान निकै खतरनाक तहमा पु¥याउँदैछ । कार्बन डाइअक्साइडको बढ्दो मात्राले तापमान वृद्धि भएको हो । विश्वभरि नै जलवायु परिवर्तनबाट पर्ने असरबारे चिन्ता र चासो व्यक्त भइरहँदा विश्व बैंकले प्रकाशित गरेको नेपालको राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदनले जलवायु परिवर्तनको असर न्यूनीकरण नगरे सन् २०५० भित्र नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) कम्तीमा ७ प्रतिशत घट्ने चेतावनी दिएको छ । जलवायु परिवर्तनका कारण विभिन्न समस्या देखापर्न थालेको अवस्थामा यो चेतावनी नेपालका लागि थप गम्भीर चुनौती हो । त्यसैले आगामी दिनमा वातावरणीय पक्षलाई उच्च प्राथमिकता दिएर विकास निर्माण तथा आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने देखिएको छ । नेपालले जलवायु परिवर्तनको असर न्यून गर्न मुलुकभित्र गर्नुपर्ने काम एकातिर छ भने अर्कातिर विश्व मञ्चमा अन्य देशका कारण आपूmमाथि आइपर्न लागेको खतराबारे जानकारी दिएर आफ्ना माग अडानका साथ प्रस्तुत गर्न सक्नुपर्छ । विश्वभरि नै दिगो विकासका लागि वातावरणको मुद्दा चर्को रुपमा उठिरहेको छ । संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रको कोप सम्मेलनले जलवायु परिवर्तनका पक्षमा विश्वको साझा मत तयार पार्ने काम गरिरहेको छ ।
तर, पेरिस सम्मेलनमा जुटेको सहमति नै विकसित देशले पालना गरेका छैनन् । यस्तोमा इजिप्टमा हुने आगामी सम्मेलनमा पनि विश्वको बढ्दो तापक्रमलाई न्यून गर्दा कार्बन उत्सर्जन घटाउने विषयमा महत्वपूर्ण सहमति जुटाउन नेपालले आफ्ना मुद्दाहरुलाई बलियोसँग उठाउनु आवश्यक रहेको विज्ञले बताएका छन् । विश्व बैंकले नेपालको जीडीपी घट्ने चेतावनी दिएपनि जलवायु परिवर्तनको असर देशको भौगोलिक सीमाअनुसार हुने होइन । तैपनि विकसित र छिमेकी राष्ट्रहरुकै कारण नेपालले असर भोग्नुपर्ने अवस्था छ । पछिल्लो समय खनिज तेलले चल्ने गाडीको व्यापक प्रयोग र उद्योगहरूको स्थापना क्रम बढेसँगै नेपालमा पनि वायुप्रदूषण र हरितगृह प्रभाव बढ्दो छ । त्यसैले नेपालले जलवायु परिवर्तनको असर न्यून गर्न मुलुकभित्र गर्नुपर्ने काम एकातिर छ भने अर्कातिर विश्व मञ्चमा अन्य देशका कारण आपूmमाथि आइपर्न लागेको खतराबारे जानकारी दिएर आफ्ना माग अडानका साथ प्रस्तुत गर्नुपर्ने देखिन्छ । जलवायु परिवर्तनका कारण नेपालमा खाद्यसंकटको जोखिम बढेको छ । बोटबिरुवाहरुको चक्रमा परिवर्तन आएको छ । साथै वर्षातको प्रवृत्तिमा आएको परिवर्तनले बाढी र पहिरोको नयाँ खालको समस्या देखिन थालेको छ ।
हिमतालहरु फुट्ने जोखिम बढेको छ । विकास रणनीति तय गर्दा जलवायु परिवर्तनका सम्भावित जोखिमबारे ध्यान दिनुपर्ने देखिन्छ । हुन त कुनै पनि उद्योग कलकारखाना वा विकास आयोजनाहरु निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गरिएको छ । तर, यो मात्र पर्याप्त देखिँदैन । खासगरी वायुप्रदूषण नेपालका लागि ठूलो चुनौती देखिएको छ । त्यसैले शहरी क्षेत्रको वायुप्रदूषण कम गर्न हरित ऊर्जालाई मात्रै प्रयोग गर्ने रणनीतिमा नेपाल जानु आवश्यक रहेको वातावरण विज्ञहरु बताउँछन् । उद्योग कारखानाबाट निक्लने प्रदूषित धुवाँलाई नियन्त्रण गर्न पनि आवश्यक नीति लिइनुपर्छ । नेपालको बस्ती विस्तारको गलत नीतिका कारण जोखिम बढेको हो । त्यस्तै डोजरे विकासले पनि पहिरोलाई निम्तो दिइरहेको छ । कस्तो ठाउँमा बस्ती बसाउन उपयुक्त हुने हो, त्यसअनुसार बस्ती नसारे पहिरोको समस्या झनै विकराल हुने देखिन्छ । जलवायु परिवर्तनले पारेको असर बारे गम्भीर रुपमा लिएर विकास निर्माण र आर्थिक गतिविधिका लागि विशेष रणनीति तय गर्नु ढिला गर्नु हुँदैन । पृथ्वी तताउने ग्यास अहिलेसम्मकै उच्च मात्रामा रहेको अध्ययनले देखाएको छ । पृथ्वीको बढ्दो तापमानलाई कम गर्न ठूला देशहरु सहमत नभए केही दशकमै हिन्दकुस हिमालय क्षेत्रले यसको ठूलो मार खेप्नुपर्ने चेतावनी विज्ञहरुले दिएका छन् । खडेरी, बाढी–पहिरोका घटनाहरु बढाउने जोखिम नेपालमा उच्च छ । अब हामी सबै आ–आफ्नो ठाउँबाट जुट्न जरुरी छ ।