पहिरोले खानेपानीका संरचनामा बर्सेनि लाखौंको क्षति

स्काई न्यूज /असोज १२, सुर्खेत । पहिरोले खानेपानीका संरचना बिगार्दा बर्सेनि ठूलो क्षतिसँगै सेवा प्रवाहमा समस्या हुने गरेको छ । वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले पहिरोका कारण हरेक वर्ष पाइप लाइनमा क्षति हुने गरेको जनाएको हो ।

संस्थाका अध्यक्ष कूलमणि देवकोटाले यो पटक पनि पहिरोले मुख्य पाइपलाइनमा ठूलो नोक्सानी पु¥याएको बताए । झुप्रा खोलाबाट ल्याइएको मुख्य प्रसारण लाइन पहिरोले फालेपछि केही दिनयता खानेपानी सेवा सञ्चालनमा कठिनाइ भइरहेको छ ।

असोज २ गते राती पहिरो जाँदा वीरेन्द्रनगर–१३ स्थित भन्झ्ङमा १६ मिटर पाइपमा क्षति भएको छ । पहिरोले उक्त स्थानमा तीन सय एमएमको डिआइ पाइप र अन्य संरचना भत्काएको छ । उक्त ठाउँमा अहिले एचडीपीइ पाइप जडान गरेर पानी ल्याउने प्रयास भइरहेको छ ।

मुख्य लाइनको पाइप नै पहिरोले फालेपछि १० दिनयता विकल्पका रुपमा संस्थाले खुर्सानीबारी खोलाबाट पानी आपूर्तिको व्यवस्था मिलाएको छ । मुख्य लाइन मर्मत भइरहेपनि उपभोक्तालाई पानीको सेवा पु¥याउन वैकल्पिक उपाय खोजिएको संस्थाका अध्यक्ष देवकोटाले बताए । ‘केही दिनका लागि खुर्सानीबारी खोलाबाट प्रसारण लाइनमा पानी हालिएको छ,’ उनले भने, ‘त्यसबाट प्रतिसेकेन्ड ५० लिटर पानी आइरहेको छ ।’ प्रतिसेकेन्ड ८६ लिटर पानी आपूर्ति भइरहेको पाइपलाइन पहिरोले फाल्दा मर्मतमा मात्रै झन्डै पाँच लाख खर्च हुने देखिएको उनले बताए ।

भिरालो भू–बनोटबाट खानेपानीको लाइन ल्याइएकाले पहिरोले फालेका संरचना निर्माणमा प्रत्येक वर्षजसो पाँच÷सात लाख रुपैयाँ खर्च हुने गरेको छ । भिरालो जमिनका कारण बर्सेनि पहिरोले संरचनामा क्षति गर्दै आएको संस्थाका इन्जिनियर बालाराम तिवारी बताउँछन् । उनका अनुसार हाल क्षति भएको मुख्य प्रसारण लाइनको मर्मत कार्य सकिएपनि त्यसमा पानी सञ्चालन गर्न भने शुक्रवारसम्म लाग्ने छ ।

मुहानमा समेत पहिरोले क्षति गरेको छ । त्यहाँसम्म मर्मतका लागि पुग्न र सामग्री ओसार्न पहुँचमार्गमा पनि ठाउँ–ठाउँमा गएको पहिरो पन्छाउने काम भइरहेको तिवारीले जनाए । ती सबै अवरोध हटाएर शुक्रवारसम्म मुख्य लाइनमा पानी हाल्ने तयारी छ,’ उनले भने । वीरेन्द्रनगर उपत्यकामा अहिले एक दिनको फरकमा उपभोक्ताका धारमा पानी पठाउने गरिएको छ ।

खानेपानीको संकट रहेकै बेला पहिरोले संरचनामा क्षति गर्दा सेवा प्रवाहमा चुनौती भएको बताइएको छ । खानेपानीको सेवा केही दिन नियमित गर्न नसक्दा शुल्क वापत संकलन हुने झन्डै १० लाख हाराहारीको थप क्षति बेहोर्नु परेको संस्थाले जनाएको छ ।

 

Translate »