राष्ट्रिय युवा संघ सुर्खेतको वडापिच्छे सरसफाइ तथा स्वास्थ्य सचेतना अभियान

स्काई न्यूज /असोज १६, सुर्खेत । राष्ट्रिय युवा संघ नेपाल सुर्खेतले वीरेन्द्रनगरका हरेक वडामा सरसफाइ तथा स्वास्थ्य सचेतना अभियान थालेको छ । नेकपा (एमाले) को जनसंगठन राष्ट्रिय युवा संघले फोहोरमैला व्यवस्थापन तथा डेंगी संक्रमण नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सुरु गरेको हो । संघमा आवद्ध युवाहरुले वीरेन्द्रनगरको वडा नं. १ र १० मा सरसफाइ तथा डेंगी संक्रमण नियन्त्रणबारे टोल–टोलमा पुगेर अभियान सञ्चालन गरेका हुन् ।

सोही अभियान अन्तर्गत शनिवार वडा नं. १ मा सचेतना कार्यक्रम गरिएको संघका सुर्खेत जिल्ला अध्यक्ष वासु आचार्यले जनाए । उक्त कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य बालाराम शर्मा, महेन्द्र शर्मालगायतका नेताहरुसहित झन्डै एक सय जना युवाहरुको सहभागिता रहेको थियो । सरसफाइ तथा सचेतनामूलक अभियानमा सुर्खेत महिला जेसिज–२०२२ को पनि समन्वय रहेको थियो । अध्यक्ष आचार्यले अभियानलाई वीरेन्द्रनगरका सबै वडा सञ्चालन गर्दै त्यसलाई जिल्लाका अन्य पालिकामा पनि विस्तार गर्ने र निरन्तरता दिने योजना रहेको बताए ।