बैंकको बढ्दो व्याजदर विरुद्ध सुर्खेतका उद्योगी व्यवसायी आन्दोलित


स्काई न्यूज /असोज २८, सुर्खेत । बन्द सदाका लागि बन्द गरिनुपर्ने माग राख्र्दै आईरहेका सुर्खेतका उद्योगी, व्यापारीले शुक्रबार खुदै वीरेन्द्रनगर बजार बन्द गरेका छन् । बैंकहरुले लिएको चर्को व्याजदरका विरुद्ध बिभिन्न ब्यबसायिक संघ–संस्थाहरुले वीरेन्द्रनगर बजार क्षेत्रमा विरोध प्रदर्शन गर्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी र राष्ट्र बैंक सुर्खेत कार्यालय मार्फत प्रधानमन्त्री र राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएका हुन् । व्यवसायीले गरेको वीरेन्द्रनगर बजार बन्दबाट टाढाबाट आएका उपभोक्तालाई सास्ती भएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पूँजी मार्गनिर्देशन २०७९ र त्यही मार्गनिर्देशनको आडमा आर्थिक मन्दीको अवसर छोपेर निजी क्षेत्रलाई धराशायी बनाउने गरी बैंकहरुको सिण्डीकेटले कडिकसाउ प्रति आन्दोलित हुनु परेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बताए । उनले निजी क्षेत्रमा भएको ऋण लगानीको ब्याज मनपरी ढंगले महिनैपिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेकौं शुल्क लिएर थप आर्थिक भार थप्ने, ब्याज किस्ताका लागि तारन्तार मानसिक दवाब दिने कार्य बैंकहरुले गरिरहेको जनाए । उनका अनुसार बैंकको व्याज दर नघटाईएसम्म संयुक्त व्यवसायी संघर्ष समिति मार्फत आन्दोलनका कार्यक्रम जारी राखिनेछन् ।


कर्जाको ब्याजदरमा एकल अंक कायम गरिनु पर्ने, बैंकहरुले विभिन्न शीर्षकमार्फत लिने सेवा शुल्क लगायतका कुनैपनि शुल्क महशुल न्यून मात्र लिनुपर्ने, पुरानो चालू पूँजी कर्जा निर्देशिकालाई यथावत राखी नयाँ निर्देशिका क्रमिक रुपले लागू गर्नुपर्ने, कर्जाको ब्याजदर पुनःसंरुचना गरिनु पर्ने, बैंकले अघि बढाएका सम्पूर्ण लिलामी प्रक्रिया २०७९चैत्र मसान्तसम्मको लागि रोक्नु पर्ने र राष्ट्र बैंकले जारी गर्ने रिपो १ प्रतिशतमा झार्नुपर्ने मुख्य मागहरु रहेको नेपाल च्याम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि शर्माले जानकारी दिए ।


