बर्दियामा बाढीले ५ सय बिघाको धानबालीमा क्षति


असोज २८, बर्दिया । बर्दियामा बाढीले ५ सय बिघामा लगाएको धानबालीमा क्षति पु¥याएको छ । बर्दियाको राजापुर, गुलरिया, मधुवन, बारबर्दिया क्षेत्रमा काटेर खेतमै सुकाइएको धान नदीले बगाएको हो ।
बुधवारदेखि धानबाली क्षतिको लगत लिन थालेको एकीकृत कृषि तथा पशुपक्षी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।
उनका अनुसार गुलरिया, मधुवन र बारबर्दियामा प्रारम्भिक लगतअनुसार करीब ५ सय बिघा (४९४ बिघा) धान बालीमा क्षति पुगेको छ ।

३०९ बिघामा लगाइएको धानबाली पूर्ण क्षति भएको छ भने १८५ बिघामा लगाएको धान बालीमा आंशिक क्षति पुगेको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको क्षतिको पूर्ण विवरण भने आइनसकेको उनले बताए ।
गत वर्ष धान काट्दै गर्दा बाढी आएर बगाएको थियो भने यस वर्ष पाकेको धानबाली ढालेको र हिलोले पुरेको कृषक गेरुवा वडा नं ३ कि भूमिसरा चलाउनेले बताइन् ।
धानको क्षति भएकाले यस वर्ष पनि विचल्लीमा परेको सुन्दरी थरुनीले गुनासो गरिन् । गत वर्ष पनि धानको क्षतिको विवरण लिएर गए पनि धानको क्षतिपूर्ति नदिएको गुनासो किसानहरूको छ ।
कर्णाली नदीमा आएको बाढीले करिब १ हजार ५ सय परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

