भारत नेपाली सिमेन्टको ठूलो बजार बन्ने व्यवसायीको दाबी

कात्तिक २, काठमाडौं । केही वर्षअघिसम्म देशको मागसमेत धान्न सक्ने अवस्थामा नरहेका नेपाली सिमेन्ट उद्योग अहिले निर्यात गर्ने अवस्थामा पुगेका छन् । सिमेन्टको ठूलो बजार दक्षिणी छिमेकी भारतमा तानसेन सिमेन्टले निर्यात थालेको केही महीनापछि अर्को उद्योग अर्घाखाँची सिमेन्टले पनि निर्यात शुरू गरेको छ ।

सरकारले चालू आर्थिक वर्ष (आव)२०७९र८० को बजेटमार्फत सिमेन्ट निर्यातमा पनि नगद अनुदान दिने व्यवस्था गरेपछि निकासी सम्भव भएको उद्योगी बताउँछन् । सरकारले निर्यातको उच्च सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टीललगायत उद्योगले वार्षिक ५० करोड रुपैयाँभन्दा बढीको निकासी गरे ८ प्रतिशत नगद अनुदान दिने गरी निर्यातमा नगद अनुदानसम्बन्धी कार्यविधि संशोधन गरेको छ ।

नेपालसँग सिमाना जोडिएका भारतका उत्तरप्रदेश, विहारजस्ता राज्यको ठूलो जनघनत्व र व्यापक मात्रामा भइरहेको निर्माण कार्यलाई हेरेर सिमेन्ट उद्योगी त्यहाँ आफ्नो उत्पादनका लागि बजारको बृहत् सम्भावना देखेको बताउँछन् । भारत आफैमा सिमेन्ट उत्पादक भए पनि यी क्षेत्रमा निकै कम मात्रामा उद्योग रहेकाले नेपाली सिमेन्टको राम्रो बजार बन्न सक्ने उनीहरूको भनाइ छ ।

नेपालबाट छोटो दूरीमा पर्ने यी क्षेत्रमा सिमेन्ट निर्यात गर्दा ढुवानी खर्च कम लाग्ने भएकाले पनि व्यवसायीको आकर्षण बढेको हो । सिमेन्टका लागि चाहिने कच्चा पदार्थलगायत सामग्री स्वदेशमै उपलब्ध भएको र सरकारी अनुदानसँगै उत्पादन सहज भएकाले निर्यात बढ्ने व्यवसायीको अपेक्षा छ । पछिल्लो समय सिमेन्ट व्यवसायीले एकपछि अर्को गर्दै आफ्ना उत्पादन भारत निकासीका लागि भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्डसबाट गुणस्तर मापदण्ड चिन्ह लिने प्रक्रिया थालेका छन् । भारतीय गुणस्तर मापदण्ड चिन्ह पाएपछि तानसेन सिमेन्ट र अर्घाखाँची सिमेन्टले निर्यात शुरू गरेका हुन् ।

सिमेन्ट उद्योगहरूले धमाधम निर्यात थाल्ने तयारी गरेपछि उनीहरूमाथि सरकारले दिने नगद अनुदानको लोभमा यस्तो गरेको आरोप पनि लाग्न थालेको छ । आरोप लगाउनेहरूले भारतमा सिमेन्ट बेच्दा खासै फाइदा नहुने तर्क गरिरहेका छन् । तर, जगदम्बा सिमेन्टका प्रबन्ध निर्देशक विष्णुप्रसाद न्यौपाने उक्त आरोप झूटो भएको बताउँछन् । कुनै पनि व्यवसायीले नाफाविना वा घाटामा व्यवसाय नगर्ने उनको भनाइ छ । भारत आफै पनि सिमेन्ट उत्पादक भएको र उसले उद्योगलाई अनुदानको सुविधा दिइरहेकाले नेपाली सिमेन्टले प्रतिस्पर्धा गर्न अनुदान अपरिहार्य रहेको न्यौपानेको भनाइ छ । आफ्नो जगदम्बा सिमेन्ट पनि भारतीय गुणस्तर मापदण्ड चिह्नको पर्खाइमा रहेको र सो प्राप्त हुनेबित्तिकै निर्यात थाल्ने उनले जानकारी दिए ।

ठूलो व्यापारघाटा बेहोरिरहेको नेपालले यसलाई कम गर्न वस्तु तथा सेवाको निर्यात प्रवर्द्धन गर्नुको विकल्प छैन । भारतमा सिमेन्टको निर्यात व्यापारघाटा कम गर्ने बाटोमा एउटा महत्त्वपूर्ण कदम हुने विज्ञहरू बताउँछन् । यसका लागि सरकारबाट अनुदानको व्यवस्था हुनु पनि सकारात्मक रहेको उनीहरूको कथन छ । तर, अनुदानको सही सदुपयोग एवं निकासी प्रवर्द्धनका लागि नियमनकारी निकाय चनाखो हुनपर्ने बताइन्छ । आर्थिक अभियान

Translate »