कर्णालीमा उत्पादित मखमली फूलको माग क्यानडामा

स्काई न्यूज /कार्तिक ७, सुर्खेत । कर्णालीमा उत्पादित मखमली फूलको माग क्यानडाबाट आउन थालेको छ । नूनदेखि सुनसम्म परनिर्भर रहेको कर्णालीले अहिले व्यवसायी चेतना बढ्न थालेपछि केही वस्तुहरु निर्यात गर्न थालेको हो । प्रदेशको कृषि पकेट क्षेत्रको रुपमा परिचित सल्यान जिल्लामा व्यवसायिक रुपमै गुणस्तरीय मखमली फूल उत्पादन गर्न थालिएपछि विदेशबाट माग आउन थालेको छ ।
बारीभरि लहरै ढकमक्क फूलेका मखमली र सयपत्री फूल लटरम्म फूलेपछि अहिले सल्यानका गाउँघर सुन्दर देखिएका छन् । नेपालमा प्लास्टिकका फूलले बजार ओगटी रहेका बेला सल्यानबाट पहिलो पटक मखमली फूलको माला क्यानडा निर्यात भएको छ । शारदा नगरपालिकाका–२ जोगिदेउखोलामा सात रोपनी जग्गामा फूलखेती गरेका मोहन ओलीले जिल्लाबाट पहिलो पटक मखमली फूलको माला विदेश पठाउन सफल भएका हुन् ।

क्यानडाबाट पाँच सय मखमली फूलको माला अर्डर भएअनुसार माला पठाइएको उनले बताए । सरकारले प्लास्टिकबाट बनेका मालामा प्रतिबन्ध लगाएसँगै बजारमा सयपत्री र मखमली फूलको माग अत्याधिक बढेको छ । ‘मखमली फूलको माग दिनप्रतिदिन विदेशसँगै स्थानीय र अन्तर जिल्लाबाट आउन थालेको छ,’ उनले भने, ‘उत्पादन भन्दा माग बढी आउन थालेपछि आपूर्ति गर्न भ्याईनभ्याई भएको छ ।’
आयातित प्लास्टिक फूलका मालामा सरकारले प्रतिबन्ध लगाएपछि स्थानीय उत्पादन विक्री हुँदैन की चिन्ता हटेको उनले बताए । सरकारले पुष्प खेती गर्ने किसानलाई मल, बीउको सहज व्यवस्था गर्न सके नेपाललाई फूलमा आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ ।