नलसिंहगाड जलविद्युत : ३१ महीनामा सकिनुपर्ने डीपीआर ७२ महीनामा पनि पूरा भएन


अमृता शर्मा / जाजरकोट । ३१ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पूरा गर्ने गरि शुरू भएको जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको डीपीआर निर्माणको काम ७२ महीना (६ वर्ष) बित्दासम्म पनि पूरा हुन सकेको छैन ।
सन् २०१६ मा ३१ महीनाभित्र आयोजनाको डीपीआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत् कम्पनी, अष्ट्रेलियाको स्नोइ माउन्टेन इञ्जीनियरिङ कर्पोरेशन (स्मेक), एमडब्ल्युएच र नेपालको उदय जेभीबीच सम्झौता भएको थियो ।
पटक–पटक म्याद थप्दा पनि डीपीआरको काम पूरा नभएपछि जाजरकोटका बासिन्दा आक्रोशित भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । विद्युत् उत्पादनगृहमा माटो जाँचका लागि खनिएको सुरुङको काम बीच–बीचमा छोड्दै निर्माण गर्दा ढिला भइरहेको छ । ३ सय ५५ मिटर सुरुङमध्ये अहिलेसम्म ३न सय ५२ मिटर मात्र खनिएको र बाँकी एक हप्ताभित्र पूरा हुने उक्त आयोजनाका इञ्जीनियर पदम थापाले बताए ।

आयोजनको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) वन मन्त्रालयमा अध्ययन भइरहेको, स्मेकलाई डीपीआरको काम छिटो सक्न पटक–पटक म्याद थपेर काम गराइरहेको उनले जानकारी दिए । उक्त नगरपालिकाको वडा ७ स्थित दल्लीमा विद्युत्गृह र बारेकोट गाउँपालिका–८को अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ ।
उक्त नगरपालिकास्थित नलगाड खोला र ठूलीभेरीको दोभान नजिकै भूमिगत पावरहाउस निर्माण गरिने बताइएको छ । बारेकोटको अँधेरीखोलाबाट दल्लीसम्म साढे ८ किलोमिटर लामो मुख्य सुरुङ र २/३ किलोमिटरसम्मका तीनओटा सहायक सुरुङ बनाइने भएको छ । आयोजनाको लागि ५ सय मिटर लामो र २ सय ४८ मिटर अग्लो बाँध बनाइने छ ।
जलाशयमा ४७ करोड ४० लाख घनमिटर पानी जम्मा हुने बताइएको छ । आयोजनामा चारओटा टर्बाइन राखिने छन् । प्रत्येक टर्बाइनबाट १०४ दशमलव २५ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट १ वर्षमा १ हजार २ सय ३२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुन्छ ।
आयोजनाबाट उत्पादित विद्युत् ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत कोहलपुर सबस्टेशनमा जोड्ने योजना छ । आयोजनास्थलबाट कोहलपुरसम्म १ सय १२ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ । आयोजनाले असर पर्ने क्षेत्रका बासिन्दालाई मुआब्जा समेत वितरण गरिसकेको छ ।

