नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव : नयाँ स्वाँद लिन पाउँदा कर्णालीका दर्शक दंग

स्काई न्यून/ कार्तिक २०, सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगरमा जारी ११ औं नेपाल युरोपेली युनियन चलचित्र महोत्सव निःशुल्क हेर्न पाउँदा कर्णालीका दर्शक दंग भएका छन् । सधै पैसा तिरेर फिल्म हेर्न बानी परेका कर्णालीका दर्शक आइतबार निःशुल्क देशी तथा विदेशी फिल्म हेर्न पाउँदा नयाँ अनुभूतिका साथ दंग भएका हुन् । पहिलो पटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित चलचित्र महोत्सवमा ५ युरोपेली र ३ नेपाली चलचित्र दर्शक श्रोतालाई निःशुल्क हेर्ने अवसर मिलाइएपछि दर्शक श्रोताको बाक्लो भिड बढेको हो ।

भौतिक तथा अनलाइन माध्यम गरी मिश्रित विधिबाट सञ्चालित महोत्सवमा नेपालस्थित युरोपेली युनियनको डेलिगेशनकी कार्यवाहक प्रमुख जोएल इभोनेटले काठमाडौंबाहिर सुर्खेतमा नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा आफुहरु उत्साहित भएको बताईन् । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले युरोपियन युनियनसँग चलचित्र महोत्सवमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

उनले उत्कृष्ट फिल्मबाट आम कर्णालीबासी दशर्कका साथै फिल्मका विद्यार्थीका लागि उपयोगी रहेको विश्वास व्यक्त गरे । आगामी वर्ष कर्णालीको परिवेश समेटिएका वृत्तचित्र र फिल्मलाई पनि प्राथमिकतामा राख्न उनले सुझाव दिए । उद्घाटन चलचित्रका रुपमा शनिबार आराश टी रिहाहीले निर्देशन गरेको ‘अस्कर एण््ड लिली’ देखाइएको थियो । यो युरोपियन चलचित्र हो । आइतबार लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’, किरण श्रेष्ठले निर्देशन गरेको ‘येट अनदर विन्टर’ र गोर्खा गर्ल देखाइएको छ ।


सोमबार द लिटिल कमरेड, ‘गड्स् अफ मोलेन्बेक’, लाहुरेनी गोर्खा गर्ल पुनः देखाइनेछ । मंगलबार रोमिज सलुन र ‘ऐना भ्mयालको पुतली’ देखाइनेछ । नेपाली कथानक चलचित्र ऐना झ्यालको पुतलीले हालैका दिनहरूमा थुप्रै प्रशंसा कमाएको सर्ट फिल्म हो । मंगलबार चलचित्रकर्मी सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकमीका लागि मास्टरक्लास सञ्चालन गर्नेछन् ।

आइतबार ‘लोला’ फिल्म हेरेपछि दर्शकले औधी मन छोएको प्रतिक्रिया दिए । दैलेखकी सुर्जा रावलले लोलाले फिल्मले आफ्नो मन छोएको प्रतिक्रिया दिइन । सुर्खेत लेकवेशी नगरपालिकाका शेरबहादुर आचार्यले तेस्रोलिंगीको अन्तरआत्माको कथालाई समेटेको प्रस्तुति राम्रो लागेको बताए । कर्णालीमा पहिलो पटक आयोजना गरिएको फिल्म फेस्टिवलमा दर्शकले नयाँ स्वाँद लिन पाउँदा नयाँ अनुभूति महसुस गरेको बताएका छन् ।

 

Translate »