दैलेख–१ की राप्रपा उम्मेदवार शाही भन्छिन्– जनताले मेरो भिजन मनपराएर भोट दिन्छु भनेका छन्

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत दैलेख–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार बनेकी छन्, पार्टीकी महामन्त्री कुन्ती शाही । निर्वाचन नजिकिँदै गर्दा उनी चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । उनीसँग निर्वाचनका विषयमा गरिएको संवाद ।

चुनावको माहोल कस्तो छ ? जितिन्छ त ? 

माहोल एकदम राम्रो छ । घरदैलोमा लागेका छौं । जनताले ‘हामीले भोट तपाईंलाई नै हाल्ने हो । अहिलेसम्म भोट हाल्दा हाम्रा लागि काम गर्ने एउटा पनि नेता भएन, हामीलाई छल्ने ढाँट्ने मात्र भए । सबैले यस्तो गर्दिन्छौं, उस्तो गर्दिन्छौं भन्छन् । तर, हामीले हिजोभन्दा आज झन् दु:ख पाएका छौं । पहिलोपटक दैलेखी महिलाले महिलालाई भोट हाल्ने मौका पाएका छौं । त्यसैले तपाईंलाई भोट पक्का छ’ भनेका छन् । हामीले पनि स्पष्ट खाका लिएर गएका छौं । त्यसैले जित्छौं ।

दैलेखी जनताले तपाईंलाई मत किन दिने ? 

दैलेखी जनताले ‘जिल्लालाई कसरी बनाउने भन्ने भिजन अन्य उम्मेदवारमा देखिएन । तपाईंले २१ बुँदे प्रतिबद्धता दिनुभएको छ । हामी यही आधारमा भोट दिन्छौं’ भनेका छन् । मैले आफ्नो वाचा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छु । युवाहरू समेत मेरो उम्मेदवारीबाट उत्साहित छन् । हामीसँग विकास र समृद्धिको स्पष्ट खाका छ । दैलेखको विकास गर्न सक्ने क्षमता हामीसँग छ । यसका लागि स्थानीय तह, प्रदेश सरकार र संघ सरकारसँग सहकार्य गर्छौं । हामीलाई त्यहाँ कसरी बजेट बन्छ भन्ने राम्ररी थाहा छ । बजेटका विषयमा छलफल गर्ने र संशोधन गर्ने क्षमता हामीमा छ । सबैसँग समन्वय गरेर दैलेखमा ठूला योजना ल्याउन सक्ने पहुँच मसँग छ । जिल्लाको समग्र विकास गरेर यहाँका जनताको ओठमा मुस्कान ल्याउने मेरो चाहना छ । यही आधारमा मलाई जनताले मत दिनुहुनेछ ।

तपाईंसँग दैलेखको विकासका योजना के के छन् ? 

अहिले जुन किसिमको राजनीति छ, त्यसलाई बदल्ने र शिक्षाको नीतिलाई प्रभावकारी बनाउने योजना छन् । वृद्धवृद्धा, अशक्त र सुत्केरी महिलालाई घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउन सकिन्छ । दैलेखमा जडीबुटी प्रशोधन केन्द्र निर्माण गर्न सकिन्छ । यहाँ एउटा कृषि क्याम्पस स्थापना गर्ने योजना छ । हामीले विद्युतीकरणलाई पनि जोड दिएका छौं । आगामी ५ वर्षभित्र हरेक घरमा बिजुली बत्ती पुर्‍याउने भनेका छौं ।

मोटरेबल पुल तथा झोलुंगे पुलका साथै हरेक पालिकामा बाह्रै महीना चल्ने बाटो र दिगो भौतिक संरचना बनाउने योजना छ । दैलेखका रीतिरिवाज, कला, संस्कृतिको प्रवर्द्धन र ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्ने योजना छ । सुर्खेत–दैलेख–महाबु हुँदै जुम्ला जोड्ने सडक यहाँको विकासका लागि अति आवश्यक छ । मध्यपहाडी राजमार्गमा पनि ढिलासुस्ती हुन नदिने र चाँडोभन्दा चाँडो यसमा लिंक सडकहरू जोड्ने योजना छ ।

स्थानीयको आर्थिक विकासका लागि नीतिगत र स्थानीय स्तरबाट कस्तो पहल गर्नुहुन्छ ? 

स्थानीयस्तरमै रोजगारी सृजना गर्ने हाम्रो पहिलो योजना हो । यहाँका धेरै युवा भारतलगायत मुलुकमा रोजगारीका लागि गएका छन् । यहाँका युवालाई दक्ष बनाउन तालीम केन्द्रहरू निर्माण गर्नुपर्नेछ । ‘कृषकसँग सांसद’ कार्यक्रम सञ्चालन गर्नेछु । महिला दलित र युवालाई उत्पादनमा जोडेर उनीहरूको आर्थिक अवस्था बलियो बनाउन सकिन्छ । यही अनुसारका योजना बनाएर चुनावमा मत मागेकी छु ।

कृषिको पकेट क्षेत्र बनाएर रोजगारी सृजना गर्न सकिन्छ । त्यसो हुँदा हाम्रा युवा विदेश पलायन हुनुपर्दैन । त्यसकारण रोजगारी सृजना र विकास हामीले नै गर्न सक्छौं । हाम्रा जनशक्तिलाई स्थानीय स्रोतसाधनमा आधारित उद्यममा लगाएर आर्थिक अवस्था उकास्ने योजना छ । आर्थिक अभियान

Translate »