पूर्वाधार निर्माण अलपत्र पार्ने र समयमा काम पूरा नगर्ने १२ ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माण अलपत्र पार्ने र निर्धारित समयमा काम सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले बुधवार एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई निश्चित समयका लागि सार्वजनिक निकायको खरीदमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

कार्यालयका अनुसार होमनाथ गौतम मुख्य सञ्चालक रहेको भारत–सप्तकोशी जेभी काठमाडौंलाई साढे दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । सडक डिभिजन कार्यालय बुटवलले यो ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिश गरेको थियो । रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको काममा ढिलाइ गर्ने हयग्रीव/सिद्धि साई प्रकाश जेभीलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीका सञ्चालक दीपेन्द्रबहादुर शाही र नरेन्द्र प्रधान छन् ।

हेटौंडा महानगरपालिकाको सिफारिशमा भरतपुर चितवनको हाइवे कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखिएको छ । नारायण सुवेदी मुख्य सञ्चालक भएको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरीद अनुगमन कार्यालयले बताएको छ ।

शहीद गंगालाल हृदय केन्द्र बाँसबारीको सिफारिशमा काठमाडौंको विधि बिल्डर्स प्रालि पनि कालोसूचीमा परेको छ । विप्लव पोख्रेल सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।

जाजरकोटको साइबाबा एन्ड तारा कन्स्ट्रक्सन एक वर्षका लागि कालोसूचीमा परेको छ । सञ्जयाकुमारी राना (शाह) सञ्चालक रहेको यो कम्पनीलाई कालोसूचीमा राख्न टोखा नगरपालिकाले सिफारिश गरेको थियो । त्यस्तै, नेपाल कृषि अनुसन्धान परिषद्को सिफारिशमा जुम्लाको अनुकूल निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीको सञ्चालक तिलबहादुर भण्डारी छन् ।


काठमाडौंको नयाँ बानेश्वरमा कार्यालय रहेको पाँचखाल कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न पर्यटन विकास आयोजना हेटौंडाले सिफारिश गरेको थियो । प्रेमप्रसाद अधिकारी सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

गुर्भाकोट नगरपालिका–४ सुर्खेतमा रहेको प्रभु निर्माण सेवालाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ । रेशमबहादुर शाह सञ्चालक रहेको यो कम्पनीलाई कालोसूचीमा राख्न खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले सिफारिश गरेको थियो ।

उत्तरगया गाउँपालिका, रसुवाको सिफारिशमा सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीका सञ्चालक सिद्धिबाबु रेग्मी छन् ।

कपिलवस्तु नगरपालिकाको सिफारिशमा रूपन्देहीको एसएसके निर्माण सेवा प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीका सञ्चालक सफीउर्रहमान अन्सारी रहेका छन् । त्यसैगरी, कृषि विकास निर्देशनालय डोटीको सिफारिशमा कैलालीको सुर्मादेवी कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीको मुख्य सञ्चालक मीनाकुमारी शर्मा कोइराला छन् ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहको सिफारिशमा नीलगिरि/नेसनल/क्यानोन जेभीलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ । नीलगिरि निर्माण सेवा प्रालिका सञ्चालक युवराज डाँगी, नेसनल डेभलपमेन्ट सेवा प्रालिका सञ्चालक धनकुमार थापा र क्यानोन कन्स्ट्रक्सन प्रालिका सञ्चालक गौरव पुडासैनी छन् । यी तीनओटै कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका हुन् । कालोसूचीमा राखिएको अवधिभर यी कम्पनीले सार्वजनिक निकायको खरिद कार्यमा सहभागी हुन पाउनेछैनन् । रासस

Translate »