कालीकोटमा मदिरा नियन्त्रण अभियान तीव्र

स्काई न्यूज /मंसिर १९, कालीकोट । कालीकोट प्रहरीले घरेलु मदिरा बिक्री वितरण नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । प्रहरीले शान्ति सुरक्षा तथा सामाजिक सद्भाव बनाई राख्न जिल्लाभरी छड्के अप्रेशन मार्फत अवैध घरेलु मदिरा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको हो । अघिल्ला वर्षहरु झै यस वर्षपनि प्रहरीले छड्के अप्रेशन मार्फत मदिरा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको छ ।

सदरमुकाम मान्म आसपासका क्षेत्रमा अवैध मदिराका कारण घरेलु झैझडासँगै १४ वर्ष माथिका बालबालिका समेत अपराधजन्य कार्यमा संलग्न हुने गरेका घटना बृद्धि भएपछि प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियान तीव्र पारेको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुवराज बमले जिल्लाका नौ वटै स्थानीय तहमा घरेलु मदिरा नियन्त्रण अभियानलाई तीव्रता दिईएको जनाए । उनले जिल्लामा अवैध मदिराको विक्री वितरण बढेपछि सामाजिक क्षेत्रमा खलल आउनुका साथै बढी मदिरा पियर कतिपय नागरिकले अकालमै ज्यान गुमाउने गरेको पाईएको बताए ।

सोमबार एकै दिनमा प्रहरीले अवैध घरेलु मदिरा ३५ लिटर, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ५ सय ४० लिटर, मदिरा बनाउन प्रयोग हुने भाँडाकुँडा ४ थान नियन्त्रण गरी नष्ट गरेको बताएको छ । सदरमुकाम मान्ममा प्रहरी निरीक्षक यज्ञराज जोशीको कमाण्डमा घरेलु मदिरा नियन्त्रण अभियानलाई तीव्रता दिईएको छ ।

Translate »