११ महीनामा ४० करोडभन्दा बढीको यार्सागुम्बा निर्यात


काठमाडौं । गत आर्थिक वर्ष (आव)को ११ महीनामा यार्सागुम्बाको निर्यात ३१ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवको साउनदेखि जेठसम्ममा ६२७ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यो अघिल्लो आवको समीक्षा अवधिभन्दा ३१ प्रतिशत बढी हो । अघिल्लो आव उक्त अवधिमा निर्यात परिणाम ४७६ किलोग्राम थियो ।
गत आवमा यार्सागुम्बाको निर्यात परिणामसँगै रकम पनि बढेको छ । गत आवको साउनदेखि जेठसम्ममा नेपालले ४० करोड ४९ लाख रुपैयाँको यार्सागुम्बा निर्यात गरेको छ । यो अघिल्लो आवको समीक्षा अवधिको तुलनामा ३६ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा नेपालबाट २९ करोड ६७ लाखको ४७६ किलोग्राम यार्सागुम्बा विदेशिएको थियो ।
१२ देशमा निर्यात, तीन चौथाइ हिस्सा हङकङ र कम्बोडियामै
नेपालबाट १२ ओटा देशमा यार्सागुम्बा निर्यात हुने गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो ११ महीनामा नेपालबाट कम्बोडिया, चीन, फ्रान्स, जर्मनी, हङकङ, इटाली, कोरिया, मलेशिया, सिङ्गापुर, संयुक्त अधिराज्य (युके), संयुक्त राज्य अमेरिका र भियतनाममा यार्सागुम्बा निर्यात भएको थियो ।

समीक्षा अवधिमा नेपालबाट सबैभन्दा धेरै यार्सागुम्बा निर्यात हङकङमा भएको छ । उक्त अवधिमा हङकङमा १८ करोड ८७ लाख रुपैयाँको २७३ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । नेपालबाट यार्सागुम्बा सर्वाधिक निर्यात गर्ने देशको सूचीमा दोस्रोमा कम्बोडिया छ । समीक्षा अवधिमा कम्बोडियाले १२ करोड ४० लाख रुपैयाँको १८४ किलोग्राम नेपाली यार्सा भित्र्याएको छ । हङकङ र कम्बोडियामा निर्यात हुने हिस्सा कुल हिस्साको तीन चौथाइभन्दा बढी हो ।
नेपालबाट यार्सागुम्बा सर्वाधिक निर्यात गर्ने देशको सूचीमा तेस्रो स्थानमा भियतनाम छ । विभागका अनुसार गत आवको समीक्षा अवधिमा भियतनाममा ४ करोड ५३ लाख रुपैयाँको यार्सागुम्बा विदेशिएको छ ।
त्यस्तै, सिंगापुरमा १ करोड ३१ लाखको, अमेरिकामा १ करोड १४ लाखको, चीनमा ९७ लाख १० हजारको, मलेसियामा ८० लाख ३८ हजार, संयुक्त अधिराज्यमा २० लाख ६३ हजारको र फ्रान्समा १० लाख २९ हजारको यार्सागुम्बा नेपालबाट निर्यात भएको छ । त्यसैगरी, इटालीमा ९ लाख ७८ हजारको, जर्मनीमा २ लाख ३० हजारको र कोरियामा ६२ हजारको यार्सागुम्बा विदेशिएको छ । आर्थिक अभियान
कुन देशमा कति ?
| देश | निर्यात (रुपैयाँमा) |
| हङकङ | १८ करोड ८७ लाख |
| कम्बोडिया | १२ करोड ४० लाख |
| भियतनाम | ४ करोड ५३ लाख |
| सिंगापुर | १ करोड ३१ लाख |
| अमेरिका | १ करोड १४ लाख |
| चीन | ९७ लाख १० हजार |
| मलेसिया | ८० लाख ३८ हजार |
| संयुक्त अधिराज्य | २० लाख ६३ हजार |
| फ्रान्स | १० लाख २९ हजार |
| इटाली | ९ लाख ७८ हजार |
| जर्मनी | २ लाख ३० हजार |
| द. कोरिया | ६२ हजार |
| कुल | ४० करोड ४९ लाख |
स्रोत : भन्सार विभाग ।

