गाउँमै बाख्रापालन बढेपछि दसैँमा पनि नेपालगञ्ज नाकाबाट खसीबोका आयात रोकियो

बाँके । गाउँघरमा बाख्रापालन बढ्न थालेपछि दसैँको समयमा भारतबाट ल्याइने खसीबोकाको आयात रोकिएको छ । विगतमा साप्ताहिकरुपमा सीमावर्ती बजारमा लाग्ने हाट बजारबाट खसीबोकाको आयात हुने गरेको थियो । यसैगरी दसैँको समयमा बढी खसीबोका आयात हुने गरेको थियो ।

दसैँको समयमा नेपालगञ्ज नाका भएर खसीबोकाको आयात बढ्ने गरेकोमा पछिल्लो समय नाका भएर खसीबोकाको आयात हुन छोडेको छ । नेपालमा बाख्रापालनमा वृद्धि भएपछि भारतबाट भित्रिने खसीबोकाको आयात रोकिएको हो । पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका अनुसार पछिल्लो दुई वर्षयता भारतबाट भित्रिने खसीबोकाको आयात करिब बन्द नै भएको छ ।

विगतमा व्यवसायीहरूले भारतका विभिन्न स्थानबाट खसीबोका खरिद गरी काठमाडौँ लगायतका शहरमा बिक्रीका लागि लैजाने गरेकोमा पछिल्लो समय अवस्थामा परिवर्तन आएको पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका पशु स्वास्थ्य प्राविधिक विजयकुमार थारुले जानकारी दिए ।

‘पशु स्वास्थ्य प्राविधिक चौधरीले भने, ‘दुई वर्षको अवधिमा एकपटक मात्रै भारतबाट खसीबोका आयात भएको तथ्याङ्क छ ।’ विगतका वर्षहरुमा सीमावर्ती भारतीय बजारमा लाग्ने हाटबजारबाट खरिद गरेर साप्ताहिकरुपमा खसीबोकाको आयात हुने गरेको थियो ।

Translate »