अवैधरुपमा भित्रिएको चल्ला नष्ट
सुर्खेत । अवैध रुपमा बाहिरी प्रदेशबाट भित्रिएको ब्रोइलर कुखुराको चल्ला बरामद गरी नष्ट गरिएको छ । वीरेन्द्रनगरको मुख्यनाका सुब्बाकुना प्रहरी चौकीले आज छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको भे१ज–१२९८ नम्वरको ईलेक्ट्रोनिक्स भ्यानको चेक जाँचकाक्रममा ब्रोइलर कुखुराको चल्ला अबैध भएको पाईएपछि प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
बरामद गरिएका १४ कार्टुन (१४सय पिस) चल्ला खाल्टोमा पुरेर नष्ट गरिएको सुब्बाकुना प्रहरी चौकी इन्चार्ज होमेन्द्र रावलले जानकारी दिए । देशका अन्य प्रदेशमा चल्लाको मूल्य कर्णाली भन्दा आधा सस्तो पर्ने भएकाले सीमावर्ती क्षेत्रबाट तस्करी हुँदै आएको छ ।
विभिन्न रुटहरु मार्फत सुरक्षाकर्मीलाई छक्याउँदै अबैध कुखुराका चल्ला तस्करहरुले कर्णालीमा भित्र्याउने गरेका छन् । त्यसरी भित्र्याईएको चल्ला सोझै कुखुरा उत्पादक कृषकलाई बिक्री गरिँदै आएको छ ।
चल्ला नष्ट कार्यमा प्रहरी हवाल्दारद्वय हर्कसिंह केसी, धनबहादुर खड्का, प्रहरी जवान सुरेन्द्र खत्रीलगायतको सहभागिता रहेको स्थानीय पत्रकार लोकजंग शाहीले जानकारी दिए ।