चिङ्गाडको सियाँलामा सिंचाइ पोखरी निर्माण

सुर्खेत । सुर्खेतको उत्तरपूर्वी चिङ्गाड गाउँपालिकाको दुर्गम लेक सियाँलामा सिंचाई पोखरी निर्माण भएको छ । कर्णाली प्रदेश सरकारको कृषि विकास निर्देशनालयको ४ लाख ८० हजार रुपैयाँ नगद र ८४ हजार ७ सय ७८ रुपपैयाँ बराबरको जनसहभागितामा सिंचाई पोखरी निर्माण भएको हो ।

सिंचाई पोखरी निर्माण भएपछि ठुलीसरे टोलका ७ घरधुरीका अर्गानिक तरकारी तथा फलफूल कृषक प्रत्यक्ष लाभान्वित भएका छन् । प्रदेश सरकारले पहाडी गाउँहरुमा अर्गानिक तरकारी तथा फलफूल खेतीतर्फ कृषकलाई आकर्षित गर्न लागत सहभागितामा उक्त अनुदान रकम सहयोग गरेको हो ।

करिब ७० हजार लिटर क्षमताको पानी पोखरी निर्माण भएपछि ठुलीसरे टोलका तरकारी तथा फलफूल किसान उत्पादकत्व बृद्धिका लागि उत्साहित भएका छन् । ठुलीसरे टोल सिंचाई पोखरी निर्माण आयोजना उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर बुढाक्षेत्रीले कृषि विकास निर्देशनालयसँग मंसिरमा आयोजना सम्झौता गरी चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य अगाबै सिंचाइ पोखरी निर्माण कार्य पुरा भईसकेको जानकारी दिए ।

उनले ठुलीसरेमा सिंचाई सुविधा पुगेपछि कृषि उत्पादकत्वमा बृद्धि हुनुका साथै गाउँमा रोजगारी समेत सृजना हुने अपेक्षा राखे । यसअघि सिंचाइ सुविधाको अभावमा कृषकले लगानी अनुसारको प्रतिफल पाउन सकिरहेका थिएनन् ।

यता कृषि विकास निर्देशनालयका ईन्जिनियर नवराज गिरीले सरकारले तोकेको मापदण्डमा सिंचाई पोखरी निर्माण भएपनि अन्तिम अनुगमनपछि मात्र उपभोक्ता समितिलाई सम्झौंता अनुसारको भुक्तानी गरिने जानकारी दिए ।

उनले ७ मिटर लम्वाई, ५ चौडाई र १ मिटर ८५ सेन्टिमिटर उँचाईको आरसीसी डब्बल जाली भएको सिंचाई पोखरी निर्माण गरिएको बताए ।

Translate »