२०८३ साउन २५ , सोमबार
Sky News Nepal
August 10, 2026

घर भित्रै कला, संस्कृति जोगाउँदै थारु समुदाय



बाँके । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा थारु समुदायको जनसंख्या १८लाख ,७ हजार १ सय २४ रहेको छ।

हिन्दू धर्मालम्बीहरुले मान्ने सबै देवी देवताहरूको प्रतिमा घर घरमा राख्ने गरेका थारु समुदाय वस्तु शास्त्रमासमेत निपुर्ण मानिन्छन् उनीहरूको घरको बनावट, पूजा गर्ने विधि र भान्सा कोठा निर्माण गर्ने पद्धतिले पनि यो कुरालाई पुष्टि गर्दछ।

थारु समुदायले बिना पुरोहित आफैले वास्तुशास्त्र मिल्ने गरी नै आफ्नो घर निर्माण गरेका हुन्छन् । उनीहरूले पूर्वपश्चिम मोहडा भएको उत्तर दक्षिणको घर बनाएका हुन्छन् । घरको दक्षिणी भागमा बैठक कोठा, उत्तरपूर्वमा देवताको कोठा, त्यसको दक्षिणमा सुत्ने कोठा, उत्तर पश्चिम कोठामा भान्सा कोठा बनाउने प्रचलन थारु समुदायमा अझै पनि विद्यमान छ ।

यो समुदायको मृत्यु संस्कार पनि आफ्नै किसिमको छ । मानिसको मृत्यु भए सब पश्चिम ढोकाबाट बाहिर निकाल्नेदेखि क्रियापुत्रीले पश्चिमी ढोका मात्र प्रयोग गर्ने जस्ता पौराणिक चलन यो समुदायमा छ ।

घरको दक्षिण पूर्व कोठामा भैसीको रक्षक ढम्रज्वा राखिन्छ भने पूर्वको आँगनमा भवानी देवीलाई स्थान दिएको हुन्छ । घरको पूर्वतर्फ आफ्ना फुल देवता राख्ने मन्दिर मर्म बनाउने लगायतका संस्कार घरबाटै सुरु गरेको स्थानीय अगुवा सिताराम थारु बताउँछन् ।

थारु समुदायको पौराणिक मान्यता अनुसार घरको पश्चिम दक्षिणतर्फ सकभर सुत्ने कोठा बनाइँदैन । देवतालाई तला भएको घरमा नराख्ने परम्परा पनि थारु समुदायमा छ । तर पछिल्लो समय भने देवताका लागि तला भएको घर बनाउन थालिएको छ । थारु समुदायमा सजावटका लागि पनि घर वरिपरि चित्र कोरिएको हुन्छ जसलाई थारुको घर हो भनेर चिनारीको रुपमा जनाउने गरिएको स्थानीय कृष्ण चौधरीले बताए ।

प्रकृतिलाई मान्ने यो समुदायले जङ्गली तथा हिंस्रक जनावरको आक्रमणबाट जोगिन घरको भित्तामा हिंस्रक जनावरको चित्र बनाउने गरेका छन् । घर अगाडि सुँगुर बाँध्ने प्रचलन पनि आफ्नो संस्कृतिसँग जोडिएको थारु संस्कृतिका जानकारहरू बताउँछन्। तर पछिल्लो पुस्ताले विभिन्न संस्कृतिहरू बिर्सिन थालेकाले पुराना संस्कृति संरक्षणका साथै ज्ञान सीप कलालाई जोड दिन थालिएको बैजनाथ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रुपबहादुर मल्लले बताए ।

पूर्व मेचीदेखि महाकालीसम्म मध्यपश्चिम भूभागमा रहेको सुर्खेत उपत्यका भित्री तराई भनिने दाङ देउखुरी उपत्यका चितवन उपत्यका माडी उपत्यका मरिनखोला उपत्यका तथा कमला उपत्यकाका साथै नेपालको समग्र तराई क्षेत्रमा थारु समुदायको बसोबास रहेको छ ।

त्यसैले यो समुदायको ज्ञान सीप कलालाई जोड्न सके आयआर्जन समेत फलदायी बनाउन प्रेरित गर्नेछ।

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधबार
Translate »