जुम्लामा १६ करोड बढीको खसीबोकासँगै भेडाको खरिद विक्री

जुम्ला । यस वर्षको दशैंमा जम्लामा १६ करोड मूल्य बढीको खसीबोकासँगै भेडाको कारोबार भएको छ ।

सदरमुकाम खलङ्गा बजारमा मात्रै १६ करोड ३२ लाख ३१ हजार मूल्य बराबरको भेडा खसी किनबेच भएको चन्दननाथ नगरपालिका पशुपंक्षी शाखा प्रमुख वीरबहादुर रावलले जानकारी दिए । उनका अनुसार जुम्लाका भेडा पालक किसान र अन्य जिल्लाबाट ल्याइएका गरी सात हजार नौ सय २८ भेडा खसी किनबेच भएका हुन् ।

चन्दननाथ नगरपालिका पशुपक्षी शाखा प्रमुख रावलले भने, ‘१५ करोड २३ लाख २३ हजारका भेडा, रु ७७ लाख ९२ हजारका खसी र रु ३१ लाख १६ हजारका राँगा भैँसी खरिद बिक्री भएका छन् ।’ उनका अुनसार स्थानीय भेडाको अधिकतम मूल्य रु २८ हजार, न्यूनतम रु १० हजार भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो ।

जुम्ली खसीको अधिकतम मूल्य रु २४ हजार र न्यूनतम मूल्य रु आठ हजार भएकामा औसत मूल्य रु १६ हजार निर्धारण गरिएको थियो । अधिकतम् मूल्य रु ५० हजार र न्यूनतम् मूल्य रु २६ हजारमा किनबेच भइरहेकोमा राँगा भैँसीको औसत मूल्य रु ३८ हजार निर्धारण गरी कारोबार मूल्याङ्कन गरिएको चन्दननाथ नगरपालिका पशुपंक्षी शाखा प्रमुख रावलको भनाइ छ ।

विसं २०६८ देखि तिब्बतबाट भेडा च्याङ्ग्रा ल्याउन छाडेपछि जुम्ली भेडा खसी मात्रै बिक्री वितरण हुने गरेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् । स्थानीय तहको केन्द्रहरूमा पनि भेडा खसीको कारोबार हुने गरेको छ ।

कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड र बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघु लगायतका बजारमा समेत भेडा खसीको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले बताएको छ । रासस

Translate »