विषादी द्रुत विश्लेषण प्रयोगशाला सञ्चालन


सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा पहिलो पटक विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।
उपभोगका लागि तयार भएका ताजा कृषि उपजमा तोकिएको मापदण्डअनुसार विषादीको अवशेष मात्रा तत्कालै पत्ता लगाउने उद्देश्यले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको कृषि विभागले विषादी प्रयोगशाला सञ्चालनमा ल्याएको हो । संघीय सरकारले २०७१ सालमै काठमाडौंको कालिमाटी तरकारी बजारमा यस्तो प्रयोगशाला सञ्चालनमा ल्याइसकेको छ ।

आज कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले सुर्खेतको वीरेन्द्रनगर स्थित कृषि थोक बजारमा उक्त प्रयोगशालाको उद्घाटन गरेका हुन् । प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री शाहले खाद्यान्न जीवन र स्वास्थ्यसँग जोडिएकाले सबैले स्वच्छ खाद्यान्न उपभोग गर्न पाउनुपर्ने बताए ।
उत्पादनको लाभ लिन बढी विषादी प्रयोग हुने गरेको भन्दै मन्त्री शाहले प्रदेशभित्र भित्रिने तरकारीलगायत खाद्यान्न स्वच्छ र स्वस्थ बनाउन सल्यानको कपुरकोट र सुर्खेतको हर्रेमा यसैवर्ष थप दुई वटा प्रयोगशाला स्थापना गरिने जानकारी दिए । प्रदेश भित्रिने तरकारीसँगै प्रदेशभित्रकै तरकारी लगायतका खाद्यान्नसमेत परीक्षण गर्ने व्यवस्था मिलाउन सरकार लागि परेको उनको भनाइ छ ।


कार्यक्रममा सुर्खेत जिल्ला समन्वय प्रमुख गंगाराम सुनारले तरकारी र फलफूलमा अत्याधिक विषादीको प्रयोग हुन थालेपछि यस क्षेत्रका उपभोक्ताको लामो समयदेखिको गुनासोलाई सम्बोधन गर्न संघीय सरकारले प्रयोगशाला सञ्चालनमा ल्याएपनि स्थानीय र प्रदेश सरकारले थप सहयोग गर्न आवश्यक रहेको औल्याए ।
उनले स्वच्छ र स्वस्थ खाद्यान्न सर्वसाधारणलाई उपभोग गराउने उद्देश्यले स्थापित प्रयोगशालालाई अब थप व्यवस्थित र आधुनिक बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख महेशचन्द्र आचार्यले सरकारले २४ प्रकारका विषादी प्रयोगमा प्रतिबन्ध लगाए पनि भारतसँगको खुला सीमाका कारण नेपाल भित्रिएर किसानले प्रयोग गरेको पाइएको जानकारी दिए । उनले अब नियमित रुपमा विषादी परीक्षण गरेर रिपोट तयार गर्न सकिने भएपनि जनशक्ति अभाव र भएका कर्मचारीलाई थप प्रोत्साहन दिन नसक्दा काम गर्न सकस भईरहेको जनाए ।
एकीकृत कृषि प्रयोगशाला कर्णाली प्रदेशका प्रमुख चित्रबहादुर रोकायले तरकारी र फलफूलमा प्रयोग गरिएको विषादीबाट नकारात्मक असर पनि देखिएको, कृषक आफै बढी प्रभावित भएर क्यान्सर, मिर्गौला रोग, छालाको रोग, नपुंसकता लगायत विभिन्न समस्या देखिने गरेको बताए । मौसमीभन्दा पनि बेमौसमी तरकारीमा विषादी बढी प्रयोग गरिएको हुन सक्ने भएकाले त्यसलाई बढी महत्वका साथ हेरिएको उनको भनाइ थियो ।



