सुर्खेतका स्थानीय पालिकाद्वारा स्वदेशी फूल प्रयोग गर्न आग्रह

वीरेन्द्रनगर । सुर्खेतका स्थानीय पालिकाहरुले स्थानीयस्तरमै उत्पादित फूलको माला प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

चाडपर्वमात्र नभई अन्य कार्यमा समेत आफ्नै माटोमा उत्पादन भएको पुष्पखेतीलाई प्रोत्साहन गर्न स्वदेशकै स्थानीय फूलमाला प्रयोग गर्न पालिकाहरुले गरेका हुन् । प्लाष्टिकका फूलमालाले वातावरणमा समेत असर पार्ने र स्थानीय उत्पादनको खपत कम गर्ने हुँदा जिल्लाका स्थानीय तहले केही समय पहिले नै सार्वजनिक सूचना जारी गर्दै प्लाष्टिकका फूलमाला बिक्री वितरण वितरणमा रोक लगाएका छन् । साथै स्थानीय फूल र मालाको प्रयोग गर्न सूचनामार्फत अनुरोध समेत गरेका हुन् ।

स्थानीयस्तरमा पुष्पखेती गर्ने किसानलाई प्रवद्र्धन गर्न यहाँका कतिपय पालिकाले बीउबिजनमा अनुदान उपलब्ध गराएका छन् ।  भेरीगंगा नगरपालिका प्रमुख यज्ञप्रसाद ढकालले नगरपालिकामा रहेर पुष्प व्यवसाय गरेका किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले प्लाष्टिकका फूलमालामा रोक लगाएको जनाए ।

उनले पालिकाभित्रका उपभोक्ताले पायक पर्ने किसानसँग सोझै सम्पर्क गरेर आफूलाई आवश्यक पर्ने फूलमाला खरिद गर्नसक्ने बताए । ‘भेरीगंगालाई आवश्यक पर्ने फूलमाला यहीको उत्पादनले पुग्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘चाडपर्वमा आवश्यक पर्ने फूलमालाको आयात रोक्दै निर्यात गर्ने लक्ष्यसहित पालिकाले पुष्पखेती गर्ने किसानलाई अभिप्रेरित गरिएको छ ।’

जिल्लाका अन्य पालिकाहरुले समेत युवा लक्षित पुष्पखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नुका सार्थ स्थानीय उत्पादनबाट नै पालिकाको माग पूरा गर्न पुष्पखेतीमा बीउ बिरुवा उत्पादनमा अनुदान उपलब्ध गराउँदै आएका छन् । स्थानीय पुष्पखेती गर्ने किसानलाई हौसला दिन र वातावरण स्वच्छ राख्नका लागि किसानले उत्पादन गरेका फूलको प्रयोग गर्न पालिकाबासीमा पालिकाले अनुरोध गरेका हुन् ।

स्थानीय किसानले उत्पादन गरेका फूलमालाको बजारीकरणमा पालिकाले समन्वय र सहजीकरण समेत गरिरहेका छन् ।

Translate »