मह बेचेर मनग्य आम्दानी गर्दै रूपबहादुर
मुगु । मुगु छायाँनाथरारा नगरपालिका–६, लिउडी गाउँका बासिन्दा रूपबहादुर सेजुवालले आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । रुण्पबहादुरले आफ्ना बाबुले थालेको मौरीपालन पेसालाई आधुनिक स्वरूप नदिई पुरानै परम्परागत काठे घारको प्रयोग गरी निरन्तरता दिइरहेका हुन् ।
रूपबहादुरका अनुसार, उनी कुनै पनि सरकारी निकाय वा अन्य संस्थाबाट आर्थिक सहयोग वा प्राविधिक समर्थन नपाएर पनि मौरी पालनलाई निरन्तर अगाडि बढाइरहेका छन् । उनले भने, ‘बाबुको सीप र क्षमताको प्रयोग गरेर व्यवसायलाई साकार पारेको छु । म आफैंले यस पेसालाई निरन्तरता दिएको हुँ, तर कुनै निकायबाट सहयोग नपाउनु दुःखद् छ ।’
परम्परागत तरिकाले तयार गरिएको महको गुणस्तरलाई स्थानीय तथा सदरमुकामका ग्राहकहरूले निकै रुचाएका छन् । ग्राहकहरू मह किन्नका लागि रूपबहादुरको घरमै आइपुग्ने गरेका छन् । ‘महका लागि ग्राहकहरू टाढाबाट पनि आउने गर्दछन् र वर्षमा दुई पटक मह निकाल्ने र बेच्ने गरेको छु त्यसैबाट घरका दश जनाको परिवारको खर्च व्यवस्थापन गरेको छु,’ उनले भने ।
सदरमुकामबाट टाढा अवस्थित उच्च हिमाली बस्ती लिउडी गाउँमा रहेका रूपबहादुरका लागि यो पेशा केवल आम्दानीको स्रोत मात्र नभई पुर्ख्यौली संस्कृतिको एक नमुना पनि बनेको छ । परम्परागत काठे घारमा मौरी पालनको सुरुवात उनका बुबाले गरेका थिए, जसलाई अहिले रूपबहादुरले निरन्तरता दिँदै आएका छन् ।
बिकट बस्तीको कठिनाइका बाबजुद पनि रूपबहादुरको व्यावसायिक उत्साह र परिश्रमले गाउँमा मौरी पालनको उदाहरणीय नमूना प्रस्तुत गरेको छ ।