भारततर्फ तस्करी हुँदा चीनबाट लसुनको अस्वाभाविक आयात

काठमाडौं । चीनबाट अस्वाभाविक रूपमा लसुन आयात बढ्नुमा यसको भारत तस्करी जिम्मेवार रहेको भन्सार विभागको प्रारम्भिक अध्ययनले देखाएको विभागका एक उच्च अधिकारीले बताएका छन् । चालू आर्थिक वर्ष (आव) को शुरूदेखि नै चीनबाट अस्वाभाविक रूपमा लसुन आयात भएको विभागको तथ्यांकले देखाउँछ ।

चालू आवको ५ महीनामै ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको ४० हजार टन लसुन आयात भएको विभागको तथ्यांक छ । मूल्यको हिसाबले यो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा ७९० प्रतिशतले धेरै हो ।गत आवको सोही अवधिमा चीनबाट ६० करोड २१ लाख रुपैयाँको ४ हजार ६०० मेट्रिक टन लसुन आयात भएको थियो ।

  •  यस वर्षको ५ महीनामा अघिल्लो वर्षको तुलनामा ७९० प्रतिशतले बढ्यो आयात
  •  अस्वाभाविक आयातबारे सूक्ष्म अध्ययन गर्न भन्सार विभागलाई अर्थ मन्त्रालयको निर्देशन
  •  प्रारम्भिक अध्ययनअनुसार भारततर्फ तस्करी भएको भन्सार विभागको निष्कर्ष
  •  चिनियाँ लसुन पोटिलो र ठूलो भएका कारण प्रयोग पनि सहज हुने भएकाले लोकप्रिय

यसरी अस्वाभाविक रूपमा लसुन भित्रिएपछि अर्थ मन्त्रालयले विभागलाई यसको कारण खोज्न निर्देशनसमेत दिएको थियो । ‘हाम्रो प्रारम्भिक अध्ययनले नेपाल–भारतबीचको खुला सिमानाको फाइदा उठाउँदै व्यवसायीले चीनबाट आयात गरेर भारततर्फ तस्करी गरेको पाइएको छ,’ विभागका सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले आर्थिक अभियानसँग भने ।

उनका अनुसार विभागले आयातकर्ता व्यवसायीसँग पनि यसबारे छलफल गरेको थियो । उक्त छलफलका आधारमा चीनबाट लसुन आयात गरेर अवैध बाटोबाट भारत निकासी भइरहेको खुलेको हो । ‘विभागले गरेको अध्ययनअनुसार चीनबाट लसुन आयात गरेर यसरी अवैध रूपमा भारततर्फ निकासी गर्न अधिकांश नयाँ व्यवसायी संलग्न भएको पाइएको छ,’ श्रेष्ठले भने ।

नेपाल र भारतमा फल्ने लसुनको दाँजोमा चिनियाँ लसुन पोटिलो र ठूलो छ, यसको प्रयोग पनि सहज हुने भएकाले चाइनिज लसुनप्रति भारतीय बजारमा समेत आकर्षण बढिरहेको व्यवसायी बताउँछन् ।

अस्वाभाविक आयातको कारण पत्ता लगाउन र त्यसको निकासी कहाँ भइरहेको छ भन्नेबारे सूक्ष्म अध्ययन गर्न विभागलाई निर्देशन दिइएको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार विगतमा नेपालमा खपत हुने लसुनको परिमाण र आयातको अवस्थाबारे समेत सूक्ष्म अध्ययन गरी मन्त्रालयमा रिपोर्टिङ गर्न अर्थले निर्देशन गरेको छ । विभागको पछिल्ला ४ वर्षको तथ्यांक हेर्दा चीनबाट आयात हुने लसुनको मात्रा अघिल्ला ३ आवको तुलनामा २०८०/८१ देखि केही बढेको देखिएको छ । तर, चालू वर्षको आयात भने बढी नै अस्वाभाविक देखिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा करीब साढे ९ हजार हेक्टर जमीनमा लसुन खेती गरिन्छ । आव २०७९/८० मा नेपालमा ९ हजार ५७० हेक्टर जमीनमा ७३ हजार ५७६ मेट्रिक टन लसुन उत्पादन भएको मन्त्रालयको तथ्यांक छ । व्यवसायीले भने चीनमा यतिबेला लसुन भित्त्याउने समय भएको र नेपालमा भर्खरै रोपेकाले आयात बढेको बताएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्य भन्छन्, ‘अहिले चीनमा नयाँ लसुन उत्पादन हुने समय हो । तर, हाम्रोमा चैत/वैशाखतिर मात्रै नयाँ लसुन उत्पादन हुन्छ । त्यस कारण यहाँ आयात बढेको हो । तर, अहिलेको आयात केही अस्वाभाविक देखिएको छ ।’

केही व्यापारीले चिनियाँ लसुन नेपाल हुँदै भारत पनि गएकाले आयात बढेको बताएका छन् । नेपाली व्यापारीले यतिबेला चीनबाट लसुन आयात गरेर भारतमा समेत निर्यात गरिरहेकाले आयात अस्वाभाविक देखिएको उनीहरूको भनाइ छ । आर्थिक अभियान

Translate »