वीरेन्द्रनगरमा भित्रिँदै विषादीयुक्त तरकारी, हिउँदे सिमी खान अयोग्य

सुर्खेत । वीरेन्द्रनगर स्थित बुलबुले कृषि बजारमा भित्रिएको हरियो तरकारीमा विषादीको मात्रा बढेको पाइएको छ ।
बुलबुले कृषि बजार परिसरमा स्थापना गरिएको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले गरेको परीक्षण प्रतिवेदनमा विषादीको प्रयोग बढेको पाईएको हो ।
वीरेन्द्रनगरमा दैनिक तरकारी तथा फलफूलको नमूना संकलन गर्दा बाहिरबाट भित्रिँने हरियो तरकारीमा विषादी मिसाईएको पाईएको छ । चितवनबाट ल्याईएको हिउँदे सिमीको नमूना चेकजाँच गर्दा कार्वामेट समूहको विषादीको मात्र बढी भएकोले खान अयोग्य हुँदा मुचुल्का उठाएर नष्ट गरिएको हो ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका नायव प्राविधिक सहायक धनसिंह धामीका अनुसार सोमबार बाहिरबाट ल्याईएको हिउँदे सिमीको नमूना चेकजाँच गर्दा कार्वामेट समूहको विषादीको मात्र ४७.७००१ पाईएको थियो ।
उनले यसअघि सुर्खेत र जुम्लामा उत्पादन भएको आलुमा समेत कार्वामेट समूहको विषादीको मात्र अधिक देखिएपछि क्वारेन्टाईनमा राखेर निष्क्रिय बनाईएको बताए ।
यता विषादीको मात्रा तोकिएकोभन्दा बढी भएपछि विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले त्यसलाई खान अयोग्य ठहर गर्ने र बुलबुले कृषि बजार विकास समितिले त्यसलाई नष्ट गर्ने गरेको समितिका अध्यक्ष टोपेन्द्रजंग शाहीले बताए ।

उनले नेपाल सरकारको सहयोगमा सुर्खेतको वीरेन्द्रनगर स्थित बुलबुले कृषि बजारमा दैनिक नमूना परीक्षण गरी अत्याधिक विषादी भेटिए नष्ट गर्ने गरिएको जनाए ।
कार्वामेटले स्वास्थ्यमा पार्ने असर
कार्वामेट कीटनाशक विषादी हो । यसको अनियमित र अत्यधिक प्रयोगले मानिसको स्वास्थ्यमा गम्भीर असर पु¥याउँछ ।
किसानले अत्याधिक कीटनाशक विषादीको प्रयोग गर्दा उपभोक्ता गम्भिर रोगको सिकार बन्दै गएका छन् । कार्वामेट रासायनिक कीटनाशक भएकाले कृषिमा कीटपतन नियन्त्रण गर्न प्रयोग गरिन्छ । यस्तो रसायनमा शारीरिक तन्तुका प्रणालीलाई असर गर्ने हुन्छ ।
कार्वामेटको अत्याधिक मात्रा भएको वस्तु मानिसले उपभोग गर्दा टाउको दुख्ने, छटपटी र थकान हुने, मांशपेशीको कमजोरी हुने, दीर्घकालमा तन्त्रिका प्रणालीको असन्तुलन हुने, क्यान्सरको सम्भावना, प्रजनन स्वास्थ्यमा असर, पारालाईसिस, न्यूरोलोजिकल समस्यासँगै मानव शरीरमा कार्वामेट अत्यधिक हुँदा मृत्यु समेत हुन सक्छ ।