विषादी भेटिएपछि बिक्नै छाड्यो हिउदे सिमी

सुर्खेत । सुर्खेतका तरकारी बजारमा आएका हिउदे सिमीमा विषादी भेटिएको खबर फैलिएपछि यसको बिक्री ह्वात्तै घटेको छ ।
उपभोक्ताले हिउदे सिमी किन्न छाडेपछि बारीबाट किसानको हिउदे सिमी उठ्न छाडेको हो । जति सस्तो दिन्छु भन्दा पनि तरकारी व्यापारी नै आउन छाडेको सुर्खेत वीरेन्द्रनगर तल्लो घुस्राका किसान कृष्णा चौधरीले बताईन् । उनले करिब डेढ कट्टामा हिउदे सिमीको खेती गरेकी छिन् । उनले दैनिक २० किलो जति हिउदे सिमी बेच्दै आएकी थिइन् । हिउदे सिमी नबिकेपछि उनी निराश छिन् ।
‘मल, बीउको खर्च त छँदैछ, पानी लगाएको पनि घण्टाको हिसाबमा पैसा तिर्नुपर्छ,’ कृष्णाले भनिन्, ‘अझ यसमा आफूले खटेको श्रमको त हिसाब नै छैन । यसपालिको लगानी बेकार भो !’ लाइकीरा, पुतलीले असर गरेर कहिलेकाहिं हाल्ने गरे पनि अहिले कुनै विषादी नहालेको उनको दाबी छ । अन्य तरकारी जस्तो हिउदे सिमीलाई खासै औषधि पनि हाल्नु नपर्ने उनी बताउँछिन् ।
विषादीको हल्ला हुनुभन्दा पहिला हिउदे सिमी एक सय रुपैयाँ किलोमा बिक्री हुन्थ्यो, अहिले ५० रुपैयाँ किलो दिँदा पनि उठाउने मान्छे पाउन गाह्रो भएको उनको गुनासो छ । लाटीकोइलीमा जग्गा भाडामा लिएर हिउदे सिमी खेती गर्दै आएका लालवीर विसी विषादी भेटिएको खबरपछि लाखभन्दा बढी घाटा भएको सुनाउँछन् ।
औषधि, उपचार नगरी साग राम्रो नहुने, साग राम्रो हुँदा नबिक्ने हुँदा किसानलाई कसै गरे पनि सुख नभएको विसीको गुनासो छ ।‘कीरा लागेको साग देख्यो भने मान्छेहरू छ्या खान्न भन्छन् । राम्रो बनाउन खोज्यो औषधि हालेको भन्छन्, केही गरे पनि सुख छैन,’ उनले गुनासो पोखे । निकै सस्तो मूल्यमा हिउदे सिमी बेच्दा पनि गाडी भाडासमेत उठेन भन्दै व्यापारीले गुनासो गर्ने गरेको विसीले बताए ।
वीरेन्द्रनगर एयरपोर्ट चोक क्षेत्रबाट तरकारी उठाएर खजुरा शान्तिनगर टोलमा बेच्दै आएकी सिता वली अचेल ग्राहकले हिउदे सिमी हेर्दै नहेर्ने गुनासो गर्छिन् । ‘विषादी छ खानु हुँदैन भन्छन्,’ सिता सुनाउँछिन्, ‘किन्दै किन्दैनन्, कतिले त हेर्दै, हेर्दैनन् ।’ पहिला दिनमा पाँच किलोसम्म बिक्री हुनेमा अहिले बिकाउनै मुस्किल परेको उनको भनाइ छ ।
जति सस्तोमा दिँदा पनि हिउदे सिमी बिक्न छाडेको शान्तिनगरस्थित तरकारी बजारका व्यापारी रामप्रसाद गिरी गुनासो गर्छन् । गिरीले घुस्रा, तल्लो सुर्खेत क्षेत्रका खेतबारीबाट हिउदे सिमी उठाउँदै आएका छन् । ‘चालिस, ५० रुपैयाँ किलोमा बेच्दा पनि बिक्दैन,’ गिरीले भने, ‘पहिला झन्डै दिनको ४०/५० किलो बेच्थें, अहिले ५ किलो ल्याउँदा तीन दिन पुग्छ, त्यो पनि आधा फाल्नुपर्छ ।’
भेटिन छाड्यो विषादी

पुस र माघ महिनाको पहिलो सातासम्म गरिएका परीक्षणमा विषादी भेटिए पनि पछिल्ला दिनमा हिउदे सिमीमा कुनै विषादी नदेखिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ वीरेन्द्रनगर, सुर्खेतका नायव प्राविधिक सहायक धनसिंह धामीले जानकारी दिए । उनका अनुसार माघको १४–१५ गतेपछि गरिएको परीक्षणमा विषादी देखिएको छैन ।
हिउदे सिमीमा विषादी भेटिएपछि सिमी खेती हुने क्षेत्रमा गएर सचेतनामूलक कार्यक्रम समेत गरिएको उनले बताए । उनले सुर्खेतमा प्राय बाहिरी जिल्लाबाट आउने हिउदे सिमीमा विषादी मिलाईएको पाईएको जनाए । उनका अनुसार सुर्खेतमा गरिएको सिमी खेतीबाट नमुना लिएर परीक्षण गर्दा विषादी देखिएको थिएन ।
विषादी हाल्ने बित्तिकै बजार ल्याउनु हुँदैन
तरकारीमा औषधि प्रयोग गरेपछि निश्चित समय नपर्खिएर बजार पठाइहाल्दा यस्तो समस्या देखिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ वीरेन्द्रनगर, सुर्खेतका नायव प्राविधिक सहायक धामीको भनाइ छ ।
उनका अनुसार कुनै विषादी वा रसायन प्रयोग गरेपछि ‘वेटिङ पिरियड’ हुन्छ । त्यो समय कुरेर तरकारी बजार पठाउँदा त्यसमा विषादी देखाउँदैन । विषादी हेरेर तीन दिन एक साता, २१ दिनसम्म पनि पर्खिनुपर्ने हुन्छ । झार मार्ने औषधि हालिएको छ भने त्यसको असर ७०–७५ दिनसम्म पनि रहन्छ । अर्गानोफोस्फेट समूहमा रहेका विषादी हिउदे सिमीमा भेटिएको थियो ।
‘ती खालका विषादी हाल्नै हुँदैन भनेर भन्न त मिलेन, त्यति धेरै हानिकारक हुन्थ्यो भने सरकारले दर्ता पनि गर्दैनथ्यो । वैज्ञानिकहरुले पनि अनुसन्धान गरेरै बनाएका हुन्,’ धामीले भने, ‘किसानको श्रम, पैसा लगानी भएको हुन्छ, बाली जोगाउनुपर्छ, तर सही तरिकाले प्रयोग गर्नुप¥यो ।’ सकेसम्म विषादी प्रयोगको विकल्पमा जाने र नगरी नहुने भयो भने समय पर्खिएर मात्रै बजार पठाउन किसानलाई तिमिल्सिनाको सुझाव छ ।
मानव स्वास्थ्यमा विषादीको असर कस्तो ?
विषादी छर्ने किसान, व्यापार गर्ने व्यक्ति र खाने उपभोक्ता समेतलाई यस खालका विषादीले असर गर्ने विज्ञहरु बताउँछन् । विज्ञका अनुसार त्यस्ता रसायन शरीरभित्र जाँदा जुनसुकै अंगलाई असर गर्न सक्छन् । कलेजो, दिमागमा असर गर्ने खालको हुन्छन् , कुनै नसामा असर गर्ने खालका हुन्छन् ।
बोनम्यारोमा रक्तकोषिका उत्पादनमा कमी ल्याउने काम पनि त्यस खालका विषादीले गर्छन् । आँखा, छाला आदिमा पनि यसले असर गर्न सक्छ । यस खालको विषादी प्रयोग गर्दा सचेत रहन विज्ञको सुझाव छ ।