२०८३ साउन २५ , सोमबार
Sky News Nepal
August 10, 2026

‘कर्णाली उत्सव’ सोमबारदेखि शुरु हुँदै



सुर्खेत । ‘कर्णाली उत्सव’ को सम्पूर्ण तयारी पुरा भएको छ ।

आयोजक संस्था ऋति फाउण्डेसनले आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी उत्सव सञ्चालनका आवश्यक सबै तयारीहरु पुरा भएको जानकारी दिएको हो । तीन दिनसम्म सञ्चालन हुने उत्सव यसअघि बुलबुले उद्यानमा हुँदै आएकोमा यस पटक वीरेन्द्रनगरको सिटी हलमा आयोजना गर्न लागिएको छ ।

‘कुडा कर्नालीका’ नारा दिएर कर्णालीलाई चिन्ने–चिनाउने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको उत्सवको यो छैटौं संस्करण हो । पत्रकार सम्मेलनमा कर्णाली उत्सवका संयोजक कमल लम्सालले कुराकानीकै माध्यमबाट कर्णालीको पहिचान र सम्भावना केलाउन उत्सव प्रभावकारी बन्दै गईरहेको बताए ।

‘परम्परागतरुपमा हुने कचहरी वा बैठककै आधुनिक रुप हो, कर्णाली उत्सव,’ उनले भने, ‘उत्सवको माध्यमबाट हामीले कर्णालीमा सार्वजनिक वहसको श्रृंखला थालनी गरेका हौं ।’ उनले बहसमा मूलतः कर्णालीलाई केलाउनुका साथै समृद्ध कर्णाली निर्माणका लागि नीति निर्मातालाई सुझाब दिइने बहसका रुपमा लिने गरिएको जनाए ।

‘कर्णाली उत्सवको मुख्य उपलब्धी भनेकै कर्णालीलाई चिन्ने र चिनाउने प्रयास हो,’ उनले भने, ‘विभिन्न संस्करणमा भाग लिएका वक्ता, सञ्चालक तथा सहभागिहरुले उत्सवको महत्वलाई बुझ्दै जानु हो । यसले हाम्रो समाजमा खुला र लोकतान्त्रिक वहसलाई संस्कारको रुपमा विकास गर्न सघाउँछ ।’

आयोजक संस्थाका अनुुसार यो पटक १३ वटा सत्र, तीन वटा कर्णाली कन्सर्ट, तीन वटा विद्धत् प्रवचन, चार वटा पैकलो रहने छन् । त्यसका लागि देशभरबाट राजनीतिज्ञ, पत्रकार, साहित्यकारहरु वीरेन्द्रनगरमा आउने आयोजकको भनाइ छ ।

प्रकाशित मिति : २०८१ फागुन ४ गते आइतबार
Translate »