कृषिको व्यवसायी तथा आधुनिकीकरणका लागि एमयुका २६ विद्यार्थी परिचालन गरिँदै


सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयु) ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्री सुर्खेत र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम व्यवस्थापन इकाई ललितपुर बीच इन्टर्न विद्यार्थी परिचालन गर्ने सम्बन्धी सम्झौता भएको छ ।
कृषि अनुसन्धान तथा प्रविधिको प्रसार गरी कृषिको व्यवसायीकरण र आधुनिकीकरण गर्ने उद्देश्यले इन्टर्न विद्यार्थी परिचालन गर्ने सम्बन्धी सम्झौता भएको भएको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका सम्भाग (जोन/सुपरजोन) मा कृषि स्नातक इन्टर्न खटाउने सम्बन्धी सम्झाता भएको ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीका डीन प्राध्यापक चन्देश्वरप्रसाद श्रीवास्तवले जानकारी दिए ।

उनले कृषिको व्यवसायीकरण तथा आधुनिकीकरण गर्ने मुलभूत उद्देश्यका साथ २६ जना विद्यार्थीलाई इन्टर्न गराउने सहमति भएको बताए । ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीका तर्फबाट (डीन) प्राध्यापक श्रीवास्तव र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका तर्फबाट परियोजना प्रमुख हिक्मतकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सोही अवसरमा ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीका संयोजक धिरेन्द्रमान थापा र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका वरिष्ठ अधिकृत आशा शर्माको रोहवरमा सम्झौता भएको हो । २६ जना विद्यार्थीको इन्टर्न वाफत २७ लाख ३२ हजार ४ सय रुपैयाँ खर्च आउनेछ । उक्त खर्च रकम तराई, पहाड र हिमाली क्षेत्रमा खटिने विद्यार्थीलाई क्रमस १४ हजार, १६ हजार र १८ हजार रुपैयाँ निर्वाह भत्ता पाँच महिनासम्मका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम व्यवस्थापन इकाईले उपलब्ध गराउनले छ ।
उक्त कार्यक्रम २०८२ साल माघ १ गतेदेखि लागु हुने छ । कार्यक्रम शुरु हुने वित्तिकै कृषिको व्यवसायीकरण तथा आधुनिकीकरणका लागि ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्री, रामघाटमा अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थी परिचालन हुने छन् ।

