सुर्खेतमा बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पुरा


सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको प्रांगणमा हुने बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ ।
विश्वविद्यालयले विहीबार पत्रकार सम्मेलन गरेर बैशाख ११ गतेदेखि १३ गते (अप्रिल २४–२६, २०२६) सम्म सञ्चालन हुने विश्वस्तरीय शैक्षिक जमघटका लागि आवश्यक सम्पूर्ण तयारीहरु पुरा भईसकेको जानकारी दिएको हो ।

सम्मेलनमा भाग लिन देश विदेशका ५ सय बढी पाहुनाहरु सहभागि हुने क्रम जारी रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार विश्वका २१ देशबाट प्रतिनिधित्व हुने, ३ सय ५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गरिने तथा अन्तरविषयगत संवाद, राउण्डटेबल छलफल सञ्चालन गरिने बताईएको छ ।
सम्मेलनले कृत्रिम बुद्धिमत्ता र डिजिटल रुपान्तरणसँग सम्बन्धित समसामयिक विषयमा गहिरो छलफल गर्ने अपेक्षा गरिएको सम्मेलन व्यवस्थापन समितिका संयोजक यदुप्रसाद ज्ञवालीले जानकारी दिए । उनले सम्मेलनमा सात प्रमुख विषयगत क्षेत्र कृषि तथा वातावरण, शिक्षा तथा मानव विकास, कानून र सुशासन, व्यवस्थापन तथा उद्यमशीलता, स्वास्थ्य, विज्ञान तथा इन्जिनियरिङ र सामाजिक विज्ञान तथा मानविकीमा केन्द्रित रहने बताए ।
मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवम् सम्मेलन व्यवस्थापन समितिका सदस्य सचिव विष्णुकुमार खड्काले सम्मेलनलाई उच्च शिक्षा, अनुसन्धान संस्कृति, अन्तरराष्ट्रिय सहकार्य र नीति निर्माणमा टेवा पु¥याउने महत्वपूर्ण अवसरका रुपमा लिएको जनाए ।

