कृषि, पशुपन्छी तथा सहकारी तालिम सञ्चालन निर्देशिकाको मस्यौदामाथि छलफल

सुर्खेत । कर्णाली प्रदेश कृषि, पशुपन्छी, सहकारी तालिम सञ्चालन तथा व्यवस्थापन निर्देशिकाको मस्यौदामा छलफल शुरु भएको छ ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले शुक्रबार सुर्खेतमा आयोजना गरेको कार्यक्रममा कृषि, पशुपन्छी तथा सहकारी तालिम सञ्चालन तथा व्यवस्थापन निर्देशिकाको मस्यौदामा छलफल शुरु भएको हो । कृषि व्यवसाय प्रवद्र्धनको लागि कर्मचारी, कृषक, कृषि उत्पादन तथा बजारीकरणमा संलग्न समूह, सहकारी तथा व्यवसायीलाई प्रशिक्षण तथा तालिम दिने उद्देश्यले निर्देशिकाको मस्यौदामाथि सरोकारवाला वीच छलफल भएको छ ।

कृषि व्यवसाय प्रवद्र्धन ऐन–२०७९ को दफा ४६ बमोजिम प्रदेशमा ज्ञान, सिप तथा कार्य क्षमता अभिवृद्धि गर्न मन्त्रालय तथा मातहतका निकायबाट सञ्चालन हुने प्रशिक्षण कार्यलाई व्यवस्थित र कार्यसम्पादनमुखी बनाउनु यसको मुख्य उद्देश्य रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले बताए ।

उनले कृषि, पशुपन्छी तथा सहकारी तालिम सञ्चालन तथा व्यवस्थापन निर्देशिकाको मस्यौदामाथि छलफल गरी आवश्यक सल्लाह, सुझाव समावेस गर्दै निर्देशिकालाई जारी गर्ने प्रक्रियामा लगिएको जानकारी दिए । आजै मन्त्री शाहको अध्यक्षतामा बसेको कर्णाली प्रदेश, बीउ बिजन व्यवस्थापन सम्बन्धी नियमावली माथि छलफल भएको छ ।

कर्णाली प्रदेश बीउ बिजन ऐन २०८१ को दफा २५ ले दिएको अधिकार प्रयोग गरी प्रदेशभित्रका विभिन्न बालीको उत्पादनमा वृद्धि गराउनु उक्त नियमावलीको मुख्य उद्देश्य हो । उच्च गुणस्तरयुक्त बीउ बिजन उत्पादन, प्रशोधन तथा परीक्षण गरी आम नागरिकको सुबिधा तथा आर्थिक हित कायम गर्न नियमावलीको महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

अहिले नियमावलीको मस्यौदालाई सरोकारवालाहरुको वीच सल्लाह, सुझाव संकलन गरी अन्तिम रुप दिने तयारी गरिएको मन्त्रालयका सचिव संजीवकुमार कर्णले बताए ।

Translate »