मुख्यमन्त्री कँडेलद्वारा प्रदेश अस्पतालको नयाँ ओपीडी भवन निर्माणको शिलान्यास

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश अस्पतालको नयाँ ओपीडी भवन निर्माणको शिलान्यास गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर स्थित कालागाउँमा करिब १७ करोड लागतमा बन्न लागेको उक्त ओपीडी भवनको आज मुख्यमन्त्री कँडेलले शिलान्यास गरेका हुन् । करिब २९ करोड ९८ लाख रुपैयाँ लागत अनुमान गरिएको भवन १६ करोड ८४ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी चण्डीदेवी विशाल एण्ड विराट जेभी, काठमाडौंले निर्माणको जिम्मेवारी पाएको छ ।

छिटो–छरितो सेवाका लागि प्रदेश र केन्द्र सरकारको सह–लगानीमा छुट्टै नयाँ ओपीडी भवन निर्माण गर्न लागिएको प्रदेश अस्पतालका सूचना अधिकारी अनिता ज्ञवालीले जानकारी दिईन् । उनले अबको १४ महिनाभित्र ठेकदार कम्पनीले भवन निर्माण गरेर हस्तान्तरण गर्नुपर्ने कार्यदेश पाएको बताईन् ।

उनका अनुसार हाल ५० शैयालाई स्तरोन्नती गरी ३ सय शैयाको बनाउनका लागि छुट्टै ओपीडी भवन निर्माण गर्न लागिएको हो । छुट्टै नयाँ ओपीडी भवन बनेमा कर्णाली र सुदूर पश्चिमका नागरिकको रोजाई परेको सुर्खेत स्थित प्रदेश अस्पतालमा बढ्दो विरामीको संख्यालाई सेवा लिन थप सहजता हुने अपेक्षा गरिएको छ ।

ओपीडी भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री कँडेलसहित प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी लगायतको सहभागिता रहेको थियो ।

Translate »