सुर्खेतको भेरीगंगामा बृहत प्रांगारिक कृषि तथा पोषण मेला

सुर्खेत । रासायनिक मल र विषादीको प्रयोगले नकरात्मक असरहरु देखा पर्न थालेपछि प्रांगारिक कृषिलाई प्रोत्साहन गर्ने उद्देश्यले सुर्खेतको भेरीगंगामा ‘प्रांगारिक कृषि तथा पोषण मेला’ को आयोजना गरिएको छ ।

‘भेरीगंगाको शान, प्रांगारिक कृषि र उद्यमी किसान’ भन्ने नाराका बृहत प्रांगारिक कृषि तथा पोषण मेलाको आज कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले उद्घाटन गरेका छन् । मेलाको उद्घाटन गर्दै मन्त्री शाहले प्रांगारिक प्रदेश बनाउने प्रदेश सरकारको संकल्पलाई यस्ता प्रांगारिक कृषि तथा पोषण मेलाले सहयोग पुग्ने बताए ।

उनले स्थानीय स्तरमा उत्पादित प्रांगारिक उपजलाई बजार र उपभोक्तासँग प्रत्यक्ष जोड्ने सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै स्थानीय स्तरमा उत्पादित पौस्टिक खाद्यवस्तुको बजारीकरणका लागि पनि यस्ता मेला सहयोगी बन्ने उनको भनाइ थियो । कार्यक्रममा भेरीगंगाका उपमेयर यज्ञप्रसाद ढकालले कृषकको पौरखलाई मूल्यसँगै पहिचान दिन र नगरपालिकालाई एक सफल कृषि उद्यमी नगरको रुपमा स्थापित गर्न प्रांगारिक कृषि तथा पोषण मेलाको मुख्य उद्देश्य रहेको जानकारी दिए ।

‘भेरीगंगाको सानः प्रांगारिक कृषि र उद्यमी किसान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको मेलामा भेरीगंगामै उत्पादन भएका तरकारी, फलफूल र अन्नबाली जस्ता कृषि उपजहरु प्रदर्शनी राखिएका छन् । मेलामा लोप हुन लागेका स्थानीय वीउविजन लहे, कागुनो, कोदो, फापर र त्यसबाट बन्ने परिकारसँगै थोपा सिँचाइ, टनेल खेती, सुधारिएको गोठ, आधुनिक कृषि औजार लगायतका कृषि प्रविधि पनि प्रर्दशनीमा राखिएका छन् ।

व्यावसायिक मौरीपालन र च्याउ खेतीका विभिन्न प्रजातिहरुका लागि विशेष स्टल पनि राखिएको छ । मेलामा स्थानीय रैथाने बालीलाई प्रयोग गरेर बनाईएका स्वास्थ्यवद्र्धक र पोषणमुक्त परिकार, युवा कृषकबीच कृषि, पोषण र वातावरणका विषयमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ ।

Translate »