कर्णालीमा २२.८ प्रतिशत धान रोपाई


डिल बहादुर खत्री/अनिता वि.क । सोचेजति वर्षा नहुँदा यस वर्ष धान रोपाई सुस्त देखिएको छ ।
मनसुन सक्रिय भएपनि अपेक्षाअनुसार वर्षा नहुँदा यो वर्ष कर्णालीमा रोपाई कार्य प्रभावित भएको हो । कर्णाली प्रदेशमा हालसम्म २२.८ प्रतिशत धान रोपाई भएको छ । यो गत वर्षको यही अवधिको तुलनामा १६.३ प्रतिशतले कमि हो ।
कर्णालीमा गत वर्ष यही अवधिमा ३९.१ प्रतिशत रोपाई भई सकेको थियो । यद्यपि ! कृषि विभागको तथ्यांकअनुसार देशभर ११.३३ प्रतिशत धान रोपाई सम्पन्न भएकोमा असार १२ गतेसम्म प्रदेशगत रुपमा सबैभन्दा बढी २२.८ प्रतिशत धान रोपाई कर्णालीमा भएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ४.२७ प्रतिशत बिन्दुले कम हो ।
देशभर गत वर्ष यही अवधि (२०८२ असार १३) मा १५.६ प्रतिशत रोपाई सम्पन्न भएको थियो । देशभर १३ लाख ८१ हजार ४८८ हेक्टर क्षेत्रफल जमिनमा बर्खे धान रोपाइँ हुने गरेकोमा यही असार १२ गतेसम्म १ लाख ५६ हजार ५८३ दशमलव ६७ हेक्टर जमिनमा मात्रै रोपाई भएको छ ।

प्रदेशगतरुपमा कर्णालीमा सबैभन्दा बढी २२.८ प्रतिशत धान रोपाइँ भएको छ । त्यसपछि लुम्बिनीमा २०.९ प्रतिशत, गण्डकीमा १२.७ प्रतिशत र बागमतीमा १२.६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस्तै, सुदूरपश्चिममा ९.३ प्रतिशत, कोशीमा ८.३ प्रतिशत र मधेशमा ५ प्रतिशत मात्रै रोपाई भएको छ । मधेश प्रदेशमा रोपाईको प्रगति सबैभन्दा कम छ ।

गत वर्षको तुलनामा लुम्बिनी र मधेश प्रदेशबाहेक अन्य सबै प्रदेशमा रोपाइँको गति सुस्त देखिएको छ । गत वर्षको यही अवधिमा लुम्बिनीमा ९.७ प्रतिशत र मधेशमा ३.९ प्रतिशत मात्रै रोपाइँ भएको थियो । सो अवधिमा कोशीमा १४.३ प्रतिशत, बागमतीमा २०.५ प्रतिशत, गण्डकीमा १३.८ प्रतिशत, कर्णालीमा ३९.१ प्रतिशत र सुदूरपश्चिममा ४५.५ प्रतिशत रोपाई भएको थियो ।
अपेक्षाअनुसार वर्षा नहुँदा यो वर्ष रोपाई प्रभावित बनेको छ । मनसुन सक्रिय भएपनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रुपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलीमिटर वर्षा मापन भएको छ, जुन यस अवधिको औसत वर्षा (२१४ मिलीमिटर) को ६९.६ प्रतिशत हो ।

