भारतबाट अवैध ल्याइएका ३ हजार कुखुराका चल्ला प्रहरी नियन्त्रणमा


बाँके । प्रहरीले मान्छेलाई त नियन्त्रणमा लिन्छ नै हिजोआज कुखुराका चल्लालाई समेत नियन्त्रणमा लिन शुरु गरेको छ ।
नेपालमा बर्डफ्लूको सङ्क्रमणको आतंक फैलिएपछि नेपाल प्रहरीले भारतलगायतका मुलुकबाट आयातित पशुपन्छीमा कडाईले निगरानी बढाउन थालेपछि उक्त परिणामका कुखुराका चल्ला नियन्त्रणमा लिएको हो । बर्डफ्लूको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि कुखुरा पालक किसान र उपभोक्ताबीच त्रासको वातावरण सिर्जना भएको छ ।

पशु सेवा विभागका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका ११ जिल्लाका ८२ भन्दा बढी स्थानमा सङ्क्रमण पुष्टि भएको छ । बाँके जिल्लाको जङ्गलिसिंहपुरुवा क्षेत्रमा भारतबाट अवैध रूपमा ल्याइएका ३ हजार कुखुराका चल्ला नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया तथा थप कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज पठाइएको छ ।
अवैध रूपमा पशुपन्छी तथा तिनका उत्पादनहरुको ओसारपसारले बर्डफ्लु लगायतका संक्रामक रोग फैलिने जोखिम बढाउने भएकाले यस्ता गतिविधिविरुद्ध कडा निगरानी बढाईएको हो ।
त्यसैले अब आयातित कुकुराका चल्ला तथा पशुपन्छी परनिर्भर किसान तथा व्यवसायीलाई कानुनी प्रक्रिया पूरा गरी मात्र चल्ला तथा पशुपन्छी आयात–निर्यात गर्न सरकारले आग्रह गरेको छ ।

