

सल्यान । सल्यानबाट एक वर्षमा १ अर्ब ६३ करोड बढीको कृषिजन्य वस्तु निकासी भएको छ । कृषि विकास कार्यालय सल्यानको गत आर्थिक वर्ष २०८२/०८३ को तथ्यांक अनुसार ३ लाख ५७ हजार २ सय ३२ मेट्रिक टन कृषिजन्य वस्तुबाट हुँदा १ अर्ब ६३ करोड ३६ हजार १६ हजार बराबर रकम जिल्लामा भित्रिएको हो ।
जिल्लाबाट सबैभन्दा धेरै मौसमी तथा बेमौसमी ताजा तरकारी निकासी भएको छ । ८ हजार ४ सय ८७ मेट्रिक टन ताजा तरकारी निकासी हुँदा ४९ करोड ७६ लाख ९० हजार जिल्लामा किसानले रकम हात पार्न सफल भएका छन् ।
यस्तै ४ हजार ५ सय ८४ मेट्रिक टन सुन्तला, कागती र किवीबाट ३९ करोड ९२ लाख ३२ हजार, ३लाख २५ जहार ५५० फलफूलका नर्सरी बिक्रीबाट १ करोड ९४ लाख ६६ हजार, १ हजार ५५० मेट्रिक टन मकै तथा बीउबाट ४ करोड ९६ लाख जिल्लामा भित्रिएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए ।

यस्तै ८ हजार ४ सय ६५ मेट्रिक टन अदुवा निकासी हुँदा ४० करोड २० लाख ८७ हजार, ९५ मेट्रिक टन बेसारबाट २२ लाख ५० हजार, २ मेट्रिक टन अलैँचीबाट ४० लाख ५० हजार, ८ हजार २५० मेट्रिक टन आलुबाट २३ करोड ५० लाख ३० हजार, ९ मेट्रिक टन महबाट ९० लाख, र अन्य तिल, भांगो, सिमि, भटमास, बदाम १७० मेट्रिक टन निकासी हुँदा २० लाख १० हजार रकम जिल्लामा भित्रिएको कार्यालय प्रमुख आचार्यको भनाई छ ।
उत्पादन भएको कृषिजन्य बस्तु, दाङ, बुटवल, नेपालगञ्ज, पोखरा, काठमाडौं लगायतका विभिन्न जिल्लामा जाने गर्दछ ।
आर्थिक वर्ष २०८१/०८२ मा ३ लाख ५५ हार ५ सय ९३ मेट्रिक टन कृषिजन्य वस्तु निकासी हुँदा १अर्ब ६९ करोड १० लाख ४ हजार रुपैयाँ भित्रिएको थियो । आ.व २०८१/०८२ को भन्दा गत आ.व २०८२/०८३ मा कृषिजन्य वस्तु १ हजार ६ सय ३९ मेट्रिक टन उत्पादन बढी भए पनि आम्दानी भने घटेको आचार्यले बताए ।











