

काठमाडौं । कर्णाली, सुदुर पश्चिम तथा मधेश प्रदेशका १४ पालिकामा युवाहरुलाई अवसरसँग जोड्न इनोभेशन हब स्थापना गरिने भएको छ । अवसरबाट वञ्चित युवालाई प्रविधिको ज्ञान प्रदान गर्दै विभिन्न अवसरसँग जोड्न इनोभेशन हब स्थापना गर्न लागिएको हो ।
यस्तै देशभरका ४२० युवालाई उद्यम स्थापना गर्न सहयोग गर्ने र ८०० युवालाई उच्च शिक्षा पूरा गरेपछि निजी क्षेत्रमा प्रशिक्षार्थीकारुपमा रोजगारीको अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ । नेपाली युवालाई प्रविधिका माध्यमबाट अवसरसँग जोड्न उडान परियोजना मार्फत आवश्यक प्राविधिक सीप प्रदान गर्ने र उत्कृष्ट युवालाई आफ्नो सोच व्यवसायमा परिणत गर्न आर्थिक सहयोग तथा विज्ञ सहायता उपलब्ध गराईने छ ।
यूरोपियन यूनियनको आर्थिक सहयोगमा युथ इन्नोभेशन ल्याबले हेफर प्रोजेक्ट नेपाल, नामी र विमेन इन एनिमेशनसँगको साझेदारीमा परियोजना सञ्चालन हुनेछ । परियोजनाअन्तर्गत सञ्चालन हुने ‘पाठशाला’ कार्यक्रममार्फत युवालाई एआई, कोडिङ तथा एनिमेसनलगायतका डिजिटल सीप निःशुल्क सिकाइनेछ।
युवाहरुको डिजिटल गतिशिलता र महत्वाकांक्षालाई उजागर गर्न भन्दै शुरु गरिएको उडान परियोजना नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोको उपस्थितिमा विहीबार काठमाडौंमा कार्यक्रम सार्वजनिक गरिएको हो । सातै प्रदेशमा चार वर्षसम्म सञ्चालन हुने परियोजनाबाट करिब ४५ हजार युवाले डिजिटल सीप प्राप्त गर्ने छन ।

युवाहरुलाई डिजिटल अर्थतन्त्रसँग जोड्न देखिएका अवरोधहरु र नीतिगत विषयमा सुधारका लागि नीतिगत बहस गर्ने उद्देश्य परियोजनाले लिएको छ । उडान अन्तर्गत सञ्चालन गरिने पाठशालाले युवाहरुलाई निःशुल्क रुपमा एआई, कोडिङ्ग तथा एनिमेशनजस्ता सीपहरु निःशुल्क प्रदान गर्नेछ ।
परियोजना अन्तर्गत निजी क्षेत्रमा उच्च शिक्षापछि युवाहरुले प्रशिक्षार्थीका रुपमा रोजगारी र सीप निखार्ने अवसर पाउनेछन् । यसैगरी, नीतिशाला अन्तर्गत परियोजनाले स्थानीय सरकारका पाठ्यक्रममा कोडिङ्ग, एआईजस्ता प्राविधिक विषय समावेश गर्दै युवालक्षित प्राविधिक शिक्षामा योगदान दिएर नीतिगत सुधारमा सहयोग गर्नेछ ।
परियोजना सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले नेपालमा खासगरी ग्रामीण क्षेत्रका युवाहरु अवसरबाट बञ्चित रहेको बताईन् । ‘अझै पनि काठमाडौं उपत्यकाबाहिरका कम पहुँच भएका युवाहरु अवसरसँग जोडिन सकेका छैनन्,’ उनले भनिन्, ‘जोखिममा रहेका समूहको अवस्था पनि उस्तै छ । दुर्भाग्यवश, मैले प्रतिनिधित्व गर्ने देशको आधा जनसंख्या ओगट्ने महिलाहरुको पनि अवस्था उस्तै छ ।’
परियोजनाले अवसरबाट वञ्चित युवालाई प्रविधिको ज्ञान प्रदान गर्दै विभिन्न अवसरसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरिन् । परियोजनाको नेतृत्व गरिरहेको युथ इन्नोभेशन ल्यावका कार्यकारी निर्देशक प्रदीप खतिवडाले अवसरको अभाव नै युवाहरुका लागि मुख्य चुनौती रहेको भन्दै परियोजनाले युवाहरुलाई प्राविधिक हिसाबले दक्ष बनाउँदै अर्थतन्त्रमा समेत योगदान दिने गरी अवसरसँग जोड्ने लक्ष्य लिएको जानकारी दिए ।
‘अवसर भएन भनेर मात्र भएन, कसैले त केही गर्नु आवश्यक छ,’ उनले भने, ‘त्यसैले हामी आफैंले नेतृत्व लिएर अघि बढेका हौं ।’
परियोजनाले अब देशैभर युवासमक्ष पुगेर उनीहरुलाई प्रविधिका माध्यमबाट अवसरसँग जोड्न गतिविधिहरु शुरु गर्ने कार्यक्रम निर्देशक गोमा कार्कीले जानकारी दिईन् ।











