२०८३ असोज १२ , सोमबार
Sky News Nepal
September 28, 2026

सुर्खेत–काठमाडौं हवाई भाडा घट्यो

अफसिजनमा विदेशी पर्यटकको आगमन कम हुनुका साथै कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण अहिले सर्भाइभ हुन हवाई भाडादर कटौती गरिएको एयरलाईन्स कम्पनीहरु बताउँछन् ।


स्काई न्यूज / पुस २४, सुर्खेत । पेट्रोलियम पदार्थको मुल्यवृद्धि र दशैं तिहार जस्ता चाडबाडका कारण महँगिएको हवाई भाडा देशैभर सस्तिएको छ । तर सुर्खेतमा भने नागरिकको चौतर्फी विरोधपछि आन्तरिक उडानतर्फको सुर्खेत–काठमाडौं हवाई भाडादर घटेको हो । गुण एयरलाइन्स र बुद्ध एयरलाइन्स प्रतिस्पर्धामा आउँदा आन्तरिक उडानतर्फको सुर्खेत–काठमाडौं हवाई भाडादर घटेको छ । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले नियमित उडान सुरु गरेपछि सुर्खेत–काठमाडौं उडानमा बुद्ध एयरको एकाधिकार तोडिँएसँगै भाडादर सस्तिएको हो । बुद्ध एयरले गुण एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न यात्रु भाडादर घटाएको छ । गुण एयरलाइन्सले शनिबारको भाडादर ६ हजार ३ सय रुपैयाँ कायम गरेको छ । साथै क्यास ब्याक ४० रुपैयाँको व्यवस्था गरेको छ । त्यस्तै, १५० रुपैयाँ रिवार्ड दिएको छ । बुद्ध एयरलाइन्सले पनि शनिबारको भाडादर ६ हजार ३ सय रुपैयाँ कायम गरेको छ । बुद्धले ४० रुपैयाँ क्यास ब्याकको व्यवस्था गरेको छ भने रिवार्ड १५० रुपैयाँ दिएको छ । भाडादर केही सुलभ भएपछि नागरिकले अझै घट्नुपर्ने भन्दै दबाब दिइरहेका छन् । तर, अफसिजनमा विदेशी पर्यटकको आगमन कम हुनुका साथै कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारणले भाडा घटाउनु परेको एयरलाईन्स कम्पनीहरुको भनाइ छ । कोभिडको कारण विदेशी पर्यटकको चाप नभएको र यतिबेला सास्कृतिक कार्यक्रम पनि कम हुने हुँदा नेपाली यात्रु समेत कम भएकोले हवाई भाडा घटेको बुद्ध एयरका कम्युनीकेसन मेनेजर दीपेन्द्र कर्णले बताए । उनले अहिले सर्भाइभ हुन हवाई भाडादर कटौती गरिएको जनाए ।

सर्भाइभ हुन भाडादर कटौती
कोभिडको कारण बिगतमा लामो समय थला परेका एयरलाईन्स कम्पनीहरुले नाफा भन्दा पनि सर्भाइभ हुन जोड दिएकोले भाडादर कम घटाएको एयरलाईन्स कम्पनीहरुले बताएका छन् । कोभिडको कारण विदेशी पर्यटकको चाप नभएको र यतिबेला सास्कृतिक कार्यक्रम पनि कम हुने हुँदा नेपाली यात्रु समेत कम भएकोले हवाई भाडा घटेको बुद्ध एयरका कम्युनीकेसन मेनेजर दीपेन्द्र कर्णले बताए । हाल हवाई भाडादर घट्दा नेपाली पर्यटकबाटै करिव ९० प्रतिशत सम्म अकुपेन्सीमा हवाई उडान गरिरहेको कर्णले बताए । हाल अन्तरप्रदेश हवाई उडान गरिरहको बुद्ध एयरले ९० प्रतिशतकै हाराहारी अकुपेन्सीमा दैनिक तथा साप्ताहिक उडान गरिरहेको पनि उनले जानकारी दिए । अहिले हवाई भाडादर कतिपय ठाउँमा बस भाडाकै हाराहारीमा आएको छ भने सिमरा, जनकपुर लगायतका ठाउँमा त बसभाडा भन्दा पनि सस्तो भएको छ ।
किन सस्तीयो हवाई भाडा ?
पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण विदेशी पर्यटकको आगमन प्रभावित भएको छ । आन्तरिक उडानमा पनि ठूलो हिस्सा ओगट्ने पर्यटक नभएपछि पर्यटकीय क्षेत्रका गन्तव्यमा हवाई भाडा निकै नै सस्तो भएको एयरलाइन्स कम्पनीहरुले बताएका छन् । विदेशी पर्यटक नहुँदा नेपालीहरुले मात्रै महँगो भाडादरमा यात्रा नगर्ने भएपछि कम्पनीहरुले बस भाडाकै मूल्यमा जहाज भाडा लिएर उडान भर्न थालेका हुन् । आन्तरिक उडान गर्दै आएका बुद्ध, श्री, यति, सौर्य, गुण लगायतका एयरलाइन्स कम्पनीहरुले सार्वजनिक गरेको भाडादर सामान्य समयको भन्दा पनि कम रहेको छ ।
अफ सिजन र कोभिड
यती एयरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौला यतिबेला वायुसेवा कम्पनीका लागि अफसिजन चलिरहेको बताउँछन् । अफसिजनमा यसैपनि यात्रुको चाप कम हुँदा भाडा घट्छ । यतिबेला त कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन पनि सँगसँगै फैलिएकाले पर्यटक नै छैनन् । त्यसकारण हवाई भाडा निकै कम मूल्यमा आएको उनले बताए । अहिले धेरैजसो वायुसेवा कम्पनीले ठूला ठूला जहाजबाट मात्रै उडान गरिरहेकाले पनि भाडादर घटेको बर्तौलाले बताए । ठूला जहाजले उडान भर्दा अपरेटिङ कस्ट (सञ्चालन खर्च) समेत कम हुने हुनाले पनि भाडा दर सस्तियको उनको भनाई छ ।

 

 

 

प्रकाशित मिति : २०७८ पुस २४ गते शनिबार
Translate »