४० लाख जरिवाना फैसला भएका अभियुक्त श्रेष्ठ पक्राउ

 

माघ ११,  काठमाडौं ।  प्रहरीले उच्च अदालत पाटनबाट बैङ्किङ कसूर मुद्दामा  फरार रहेका तोरणबाबु श्रेष्ठलाई पक्राउ गरेको छ ।

उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैङकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र  ४० लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । प्रहरीले सोही फैसला कार्यान्वयनका क्रममा रामेछाप जिल्लाको सुनापती गाउँपालिका–५ घर भई हाल काठमाडौं बस्ने ४४ वर्षीय श्रेष्ठलाई मंगलवार पक्राउ गरेको हो ।

हालसम्म फरार रहेका अभियुक्त श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा रामेछापको लुभुघाटबाट पक्राउ गरेको हो । काठमाडौँमा लुक्दै बस्ने गरेका अभियुक्त श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्याएर पीडितलाई चेक दिएका थिए ।

फैसला कार्यान्वयनको लागि अभियुक्त श्रेष्ठलाई रामेछाप जिल्ला अदालतमा पेश गरिने प्रहरीले बताएको छ ।

Translate »