कर्णाली प्रदेश प्रहरी : ६ महिनामा २९ करोड बढी राजश्व सङ्कलन


स्काई न्यूज/ माघ ११, सुर्खेत । न्यून स्रोत साधनसँगै जनशक्ति अभावका वावजुद कर्णाली प्रदेश प्रहरीले लक्षित उद्देश्य सफलतापूर्वक पुरा गर्दै आईरहेको छ । प्रदेशका १० वटै जिल्ला प्रहरीद्वारा कार्य सम्पादन सम्झौंता प्रभावकारी कार्यान्वयन हुँदा तोकिएको जिम्मेवारी भन्दा सफलता बढी देखिएको हो । यस आर्थिक वर्षको पहिलो अर्ध वार्षिकमा प्रदेश प्रहरी कार्यालयले विभिन्न शिर्षकबाट २९ करोड ८३ हजार ५ सय २४ रुपैयाँ राजश्व संकलन गरेको छ ।
सङ्गठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ विशेष ध्यान दिई समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।
यस आर्थिक वर्षको गत ६ महिनामा मात्र प्रदेश प्रहरीले विभिन्न मुद्धाका फरार प्रतिवादीहरु १ सय ४१ जनालई पक्राउ गरी कुल ७३ वर्ष ९ महिना २८ दिन कैद सजाय भुक्तानसँगै १६ लाख १० हजार ८ सय रुपैयाँ जरिवाना असुल उपर गरेको छ । त्यस्तै ट्राफिक नियम उल्लघन गर्ने २० हजार ५ सय १ जनालाई कार्वाही गरी १ करोड ७१ लाख ९७ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।
यो अवधिमा दुर्घटना दरमा न्यूनीकरणका लागि ७ सय ६७ पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ६ लाख ६९ हजार ७ सय ९० जना लाभान्वित गराईएको प्रदेश प्रहरीको प्रतिवेदनमा उल्लेख छ । प्रदेशभर यो अवधिमा सवारी दुर्घटना २ सय ३ वटा भएको थियो भने सवारी दुर्घटनामा परी १ सय १८ जनाको मृत्यु र ५ सय १५ जना घाईते भएका छन् ।


यस्तै पछिल्लो ६ महिनामा अबैध भन्सार छलीका लत्ताकपडा, सुर्तीजन्य र खाद्यन्न सामाग्रीसहित १ करोड ३४ हजार ५ सय ६४ रुपैयाँ बरावरको राजश्व असुलीसँगै ११ जनालाई पक्राउ गरिएको बताईएको छ । यसैगरी नदीजन्य तथा खानीजन्य प्राकृतिक स्रोतहरुको गैरकानूनी उत्खनन् तथा ओसारपसारमा संलग्न ५८ सवारी साधन र ५१ जनालाई कार्वाही गरी २ लाख ४० हजार ५ सय ७० रुपैयाँ राजश्व संकलन भएको छ । प्रदेश प्रहरी कार्यालयले पछिल्लो ६ महिनामा ३ सय ४८ जना प्रहरी पुरस्कृत गर्नुका साथै १ सय ५८ जनालाई सजाय दिएको छ ।
विभिन्न निकायहरुको समन्वयमा विभिन्न स्थानमा ४४ थान सिसिटिभी जडान तथा ४० वटा मर्मत गरी कुल २४५ स्थानमा सिसिटिभीको व्यवस्था गरिएको बताईएको छ । अवैध हातहतियार २४ नाल बरामद र १५ जना पक्राउ गरिएको प्रदेश प्रहरी प्रवक्ता राजेन्द्रसिंह खड्काले बताए । उनले पछिल्लो ६ महिनामा अवैध घरेलु मदिरा २२ हजार १ सय ९८ लिटर बरामद गरी नष्ट गरिएको जनाए । उनका अनुसार अवैध रुपमा जुवा तास खेल्ने ११ स्थानबाट ८४ जनालाई पक्राउ गरी कारवाही गरिएको छ ।
पछिल्लो ६ महिनामा लागुऔषध दुव्र्यसनी तथा अवैध वेचविखन गर्ने गत ३५ जना रहेकोमा यस वर्ष ९० जनालाई पक्राउ गरी ५९ ग्राम ३३३ मिलिग्राम ब्राउन सुगर, १ किलो २१३ ग्राम चरेश बरामद गरी कारवाही छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न जिल्लामा विभिन्न किसिमका लागुऔषध, घरेलु हिंसा, लगायत न्यूनिकरणको लागि जनचेतनामूलक कार्यक्रम ३ हजार ५ सय ७९ वटा भएका छन् ।

यसबाट लाभान्वित ३ लाख ४९ हजार ३७९ जना व्यक्ति भएका छन् । अवैध वन्यजन्तु तथा वन पैदावार चोरी निकासी बरामद ओखेटोपहार र बन पैदावारको विवरण २ सय ७३ दशमलव ६९ क्यूफिट काठ, यार्सागुम्बा ५ किलो ३ सय ग्राम, रेडपाण्डाको छाला ४ थान, कस्तुरीको बिना ४ थान , सालकको खप्पर १ थान र मानिस १८ जनालाई पक्राउ गरिएको आवश्यक कार्वाहीको लागि सम्बन्धित निकायमा पठाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अवैध जडिबुटी जटामासी ५ बोरा, कटुकी १३ बोरा, खिरौला १२ बोरा र जिम्बु ३ सय १ किलो बरामद गरिएको प्रहरीले बताईएको छ । प्रहरी कर्मचारी परिवार, पूर्व प्रहरी कर्मचारी र सर्वसाधारण र मुगुका अग्नि पीडिततलाई लक्षित गरी कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र सुपथ मेडिकल हलको समन्वयमा २ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री कालिकोट र मुगुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रदेश प्रहरीले बताएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत तपाईको मास्क खोई कार्यक्रम कर्णाली प्रदेशका १० जिल्लामा सञ्चालन भइरहेका छन् । खासगरी प्रदेश सरकारले स्थापना गरेको स्वास्थ्य चेकजाँच हेल्थ डेस्कमा प्रहरीले सहयोग गरिरहेको छ ।

