

स्काई न्यूज /माघ १९, सुर्खेत । पश्चिम सुर्खेतले विकासमा फड्को मार्ने तयारी गरेको छ । कैलाली र अछामसँग जीवन्त सम्बन्ध राखेको पश्चिम सुर्खेतलाई समृद्ध बनाउन नदी माथिका पुल जोड्ने कामले गति लिएसँगै विकासमा फड्को मार्ने निश्चित भएको हो । पश्चिम सुर्खेतको समृद्धिसँगै जोडिएको कर्णाली नदी माथिका घाटगाउँ–चिप्ले पुल, वरी कुइने र पारी कुइने जोडने पुल निर्माण कार्य धमाधम भईरहेको छ । ती पुलहरु चालु आर्थिक वर्षको अन्त्यसम्म सञ्चालनमा ल्याउने तयारी भएको निर्माण पक्षको भनाई छ । यस्तै तातापानी–घाटगाउँ जोड्ने भेरी नदी माथिको कोसेनीघाट पुल निर्माण समेत अन्तिम चरणमा रहेको छ । कुइने–विजौरा–गुटु–बेनीघाटहुँदै डोटी जोड्ने उद्देश्यले निर्माण शुरु गरिएको उक्त पुल विधिवत सञ्चालनको तयारीमा रहेको निर्माण पक्ष बताएको छ । कोरोना कहरले निर्माण सामाग्री अभावमा रोकिएको पुलको काम अहिले स्थिती सामान्य बन्दै गएपछि निर्माण कार्यले तीव्रता पाएको हो । हालसम्म करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको पुल निर्माणको ठेक्का पाएको अनक–लुम्बिनी जेभीका प्रतिनिधि ईन्जिनियर दिनेशकुमार श्रेष्ठले बताए । उनले कुनै भब्यतव्य नआए अबको तीन महिना भित्र पुल निर्माण कार्य सम्पन्न हुने जनाए । ‘तोकिएको समय भन्दा ६ महिना पहिले नै पुल निर्माण सकेर सरकारलाई जिम्मा दिने लक्ष्य थियो,’ उनले भने, ‘तर वीचमै एक्कासी कोरोना कहरले निर्माण सामाग्री र मजदुर अभावलगायतका कारणले काममा ढिलाई भएपनि अब अहिले स्थिती सामान्य बन्दै गएपछि पुल निर्माणले गति पाएको हो ।’

उनले पुल निर्माण अवधि २०७८ जेठ मसान्तसम्म रहेपनि कोराना महामारी लगायतले ढिलाई भएकाले केही समय पर सरेको जनाए । उनका अनुसार पुल निर्माणका लागि अनक–लुम्बिनी जेभीले ४ वर्ष भित्र पुल निर्माण गरिसक्ने गरि २०७४ मंसिरमा सडक विभाग, पुल महाशाखासँग भ्याट बाहेक ३४ करोड ४३ लाख रुपैयाँमा सम्झौंता गरेको थियो । पुलको लम्बाई ३ सय ३ मिटर र चौडाई ११ मिटर रहेको छ । रेलिङ, फुटफाथ र दुईतिर सडक पेटी बनाईएका छन् । ‘यो पुल निर्माणको कामलाई अहिले निकै महत्वका साथ हेरिएको छ । पुल निर्माणसँगै पश्चिम सुर्खेतका गाउँहरुसँगको ‘कनेक्टविटी’ बढ्ने छ,’ स्थानीय समाजसेवी काशीराम (जैसी) देवकोटाले भने, ‘पुल निर्माणले घाटगाउँ र कुईने वीच जीवन्त सम्पर्क मात्र होइन, वर्षाको भेलमा नदी तरेर वारपार गर्नुपर्ने बाध्यता समेत अन्त्य हुने छ ।’ उनले पुल निर्माणबाट पञ्चपुरी नगरपालिका–११, को कौसेनी घाट र चौकुने गाउँपालिका–९, बेलगौडाको आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘देशमा थुप्रै राजनीतिक परिवर्तन भइसक्यो । अब आर्थिक परिवर्तनको खाँचो छ, जसलाई पश्चिम सुर्खेतका जनताले पर्खेर बसेका छन्,’ उनले भने, ‘राजनीतिक अधिकार, पहिचान र लडाई निरन्तर चल्ने प्रक्रिया हो । त्यो सँगसँगै आर्थिक समृद्धि र विकास महत्वपूर्ण पाटा हुन् ।’

उनले पश्चिम सुर्खेतको समृद्धि र विकासका लागि जनअपेक्षा अनुरुप आफुले निरन्तर लडाई जारी राखेको जिकिर गरे । पञ्चपुरी नगरपालिका–१०, का टेकबहादुर राजीले पुल निर्माणबाट भेरी र कर्णाली नदी किनारका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने जनाए । उनका अनुसार यो पुल निर्माणसँगै साविक तातापानी, घाटगाउँ, गुटु र विजौरा गाविसका बासिन्दालाई बैकल्पिक सडक मार्गका रुपमा विकास गरिनेछ । त्यस्तै कुइनेका स्थानीय प्रेम बडुवालले जामु र बेलगौडामा पक्की मोटेरेवल पुल बनेसँगै अब प्रस्तावित औद्योगिक नगरी गुटुसँगको आर्थिक तथा सामाजिक सम्बन्धलाई प्रगाढ बढाउन रागमा पक्की पुल बनाउन आवश्यक रहेको औल्याए ।


उनले चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याकका लागि राग र जंगलाघाटमा पक्की पुल निर्माण अपरिहार्य रहेको बताए । उनका अनुसार चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याक निर्माणले पहाडी जिल्लाका बासिन्दालाई निकै राहत पुग्नेछ । ‘पश्चिम सुर्खेतका बासिन्दा किनमेल गर्न कैलालीको चिसापानी लगायतका बजार पुग्नुपर्ने बाध्यता छ । उनीहरुलाई सदरमुकाम वीरेन्द्रनगर भन्दा कैलालीको चिसापानी भौगोलिक रुपमा नजिक पर्छ,’ तातापानीका स्थानीय धनबहादुर माझीले भने, ‘भेरी नदीमा पुल नभएकाले उनीहरुलाई ओहरदोहरमा निकै समस्या हुने गरेको छ । पुल बनेपछि उनीहरु सहजै कैलालीको चिसापानी लगायतका ठाउँमा पुग्न सक्ने छन् ।’ उनका अनुसार अहिले गुटुका बासिन्दा रागमा पुल नहुँदा घुमाउँरो जामुको पुल हुँदै ओहोरो–दोहोरो गरिरहेका छन् । यद्यपि कुइनेदेखि गुटुसम्मको कच्ची सडकमा साना सवारी साधन अहिले जेनतेन चल्ने गरेका छन् ।

यसैवीच सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सुर्खेतका प्रहरी प्रमुख (एसपी) पदमबहादुर विष्टलगायतको एक जिल्ला स्तरीय उच्च टोलीले पश्चिम सुर्खेतका सडक तथा पुल निर्माणसँगै सुरक्षा अवस्था, कोरोना रोकथाम, नियन्त्रण एवं उपचारमा स्थानीय तहको काम कार्वाही लगायतको अनुगमन तथा अवलोकन गरेको छ । उक्त उच्च स्तरीय सरकारी टोली पश्चिम सुर्खेतमा भईरहेका निर्माण कार्यमा हुने ढिलासुस्ती तथा सवारी साधनमा बेला बखत हुने अवरोध लगायतका बारेमा सोधपुछ तथा आवश्यक अनुसन्धान गरी बुधबार नै सदरमुकाम फर्केको हो । टोलीले स्थानीय तहका जनप्रतिनिधिसँग विकास निर्माण तथा यातायातका सवारी साधनले सडकहरुको दुरावस्थाका कारणले भोग्नु परेका समस्याहरुलाई यथाशीघ्र समाधान गर्न सुझाव दिएको छ । स्थानीय तहको चुनाव जेठ ४ गते हुने सरकारी घोषणा भएसँगै आवश्यक पूर्वाधार तथा स्रोत साधन र सुरक्षाको व्यवस्थाको अवस्था समेत अवलोकन तथा अनुगमन गरिएको थियो ।












