द्रुतगतिको ईन्टरनेट ‘फाइवर टू दी होम’ : आजदेखि कर्णालीमा ‘एनटी टीभी’ सेवा शुरु


स्काई न्यूज /फागुन १, सुर्खेत । नेपाल टेलिकमले आजदेखि कर्णाली प्रदेशमा पहिलो पटक सुर्खेतको वीरेन्द्रनगरदेखि ‘एनटी टिभी’ ब्राण्डमा फाइवर टू दी होम (एफटीटीएच) मार्फत आईपी टिभी सेवा शुरु गरेको छ । टेलिकम सुर्खेतले आईतबार एक कार्यक्रमको आयोजना गरि एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा ‘एनटी टिभी’ सेवा पनि उपलब्ध गराएको जानकारी दिएको हो । एनटी टिभी शुभारम्भ कार्यक्रममा टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक अनन्तप्रकाश मल्लिकले एनटी टिभी सेवा शुरु भएसँगै ट्रिपल–प्लेको अवधारणा कार्यान्वयनमा कर्णाली जस्तो दुर्गम क्षेत्रमा समेत सफलता प्राप्त गरेको बताए । ‘उनले अत्याधुनिक सेवाका रुपमा एउटै तारबाट भ्वाइस, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउँदै छिट्टै कर्णाली प्रदेशभरी दीगो र भरपर्दो सेवाका लागि योजना बनाएर अघि बढिरहेको जानकारी दिए ।

‘अप्टिकल फाइबर पु¥याएर ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट, आईपीटीबी र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी रहेको छ,’ उनले भने, ‘हाल प्रयोगमा रहेको ल्यान्डलाइन (पीएसटीएन) टेलिफोनमा जस्तै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा पनि विभिन्न माध्यमबाट महशुल बुझाउन वा रिचार्ज गर्न सकिनेछ ।’ उनले यसअघि देशभरका ४२ जिल्लामा पुगिसकेको ‘एनटी टिभी’ सेवा अब सुर्खेत ४३ औं जिल्ला भएको जनाए । ‘एनटी टिभी विस्तारले प्रदेश सरकारको डिजिटल कर्णाली स्थापना गर्ने अभियानमा सहयोगसँगै डिजिटल रुपान्तरणमा प्रभावकारी योगदान पुग्ने देखिन्छ,’ उनले भने, ‘टेलिकमले कर्णालीमा चौथो पुस्ताको मोबाइल सेवामा उल्लेख्य उपलब्धि हासिल गरेसँगै फाइबरमार्फत एकैसाथ टेलिफोन, इन्टरनेट र टिभी उपलब्ध गराउने पहिलो कम्पनी हो ।’

टेलिकमले आफ्नो सेवा अझै गुणस्तरीय, सर्वसुलभ र आधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने प्रयासरत रहेको निर्देशक मल्लिकले जिकिर गरे । तामाको तारबाट चल्ने परम्परागत स्थानीय टेलिफोन तथा एडीएसएल सेवालाई अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवामा रुपान्तरण गरि अत्याधुनिक सूचना प्रविधि सञ्जाल विस्तार गर्ने लक्ष्यअनुसार कर्णालीका ग्रामीण क्षेत्रमा दूरसञ्चारको क्षेत्र विस्तारमा समेत निर्देशनालय जुटेको उनको भनाइ थियो । कार्यक्रममा टेलिकम सुर्खेत कार्यालय प्रमुख सन्तोष शर्माले जनतामा अत्यधिक माग भएको एउटै फाइबरबाट तीनथरी सेवाहरु उपलब्ध हुने एफटीटीएच सेवाको विस्तारसँगै मर्मत र निरन्तरतामा समेत ध्यान दिईएको बताए ।


उनले वीरेन्द्रनगरबाट शुरु गरिएको ‘एनटी टिभी’ सेवालाई छिट्टै जिल्लाव्यापी बनाउँदै सबै नागरिकसम्म पु¥याउन प्रयास जारी रहेको जनाए । उनका अनुसार सुर्खेतमा टेलिकमको फाइवर टू दी होम (एफटीटीएच) सेवा लिने करिब ६ हजार ग्राहक पुगिसकेका छन् । टेलिकमले ‘एक घर, एक फाइबर कनेक्सन’ को उद्देश्य राखेर काम गरिरहेको पनि उनले बताए । टेलिकमले सञ्चालनमा ल्याएको उक्त सेवाले शहरी सौन्दर्यलाई पनि सघाउ पु¥याउने उनको विश्वास छ । टेलिकमले सुर्खेतका लागि एनटी टिभी सेवाको पहिलो ग्राहक वीरेन्द्रनगर–१०, खजुराका अमृतबहादुर रानालाई समेत सम्मान गरेको छ ।

कसरी लिने ‘एनटी टिभी’ सेवा
कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहक वर्गले एनटी टीभी सेवा प्राप्त गर्न नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्नुपर्दछ । कर्णाली प्रदेशमा तत्कालका लागि सुर्खेतमा ‘एनटी टिभी’ सेवा उपलब्ध हुने छ । राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टीभी सेवा वेसिक प्याकेज र प्रिमियम प्याकेजमा छुट्याइएको र सेवा अवधि एक वर्ष कायम गरिएको छ । इन्टरनेट व्याण्डविथ प्रयोगका आधारमा यसको मूल्य फरक–फरक कायम गरिएको छ ।

कम्पनीले तारवाला फोनका ग्राहकहरुलाई प्राविधिक रुपले सम्भव भएसम्म एफटीटीएचमा रुपान्तरण गरिरहेको अवस्थामा एफटीटीएच अन्तर्गत भ्वाइस सेवा मात्र उपयोग गरिरहेका ग्राहकलाई पनि एनटी टीभी सेवा उपलब्ध हुनेछ । एनटी टिभी सेवाको प्याकेज तथा दररेट र सेवा उपलब्ध हुने स्थानहरु सम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइटमा उपलब्ध गरिएको टेलिकम सुर्खेतका प्रवक्ता प्रेम गिरीले बताए ।


