२०८३ मंसिर ५ , शुक्रबार
Sky News Nepal
November 20, 2026

सुर्खेत आँखा अस्पतालको स्तरोन्नती गरिँदै



 

स्काई न्यूज / फागुन ११, सुर्खेत । सुर्खेत आँखा अस्पताललाई थप स्तरोन्नती गरिने भएको छ । सीवीएम जर्मनी र अष्ट्रेलियाको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योती संघको समन्वयमा आर्थिक सहयोग प्राप्त भएसँगै अस्पतालको स्तरोन्नती गर्न लागिएको हो । अस्पताललाई आइतबार एक कार्यक्रमका वीच दातृनिकायहरुले पहिलो चरणमा करिब १ करोड रुपैयाँ बराबरको उपकरण हस्तान्तरण गरेका छन् । कर्णाली प्रदेशमा आँखा सम्बन्धि रोगको एक मात्र अस्पतालका रुपमा रहेको ‘सुर्खेत आँखा अस्पताल’ मा विरामीको चाप बढेसँगै समस्याहरु थपिँदै गएका थिए ।

सीमित स्रोतसाधनबाट बढ्दो सेवाग्राहीको चापलाई थेक्न सकस भईरहेका बेला दातृनिकायको आर्थिक तथा प्राविधिक सहयोगले ठूलो टेवा पुग्ने अस्पतालले विश्वास लिएको छ । दातृनिकायको सहयोग प्राप्त भएसँगै स्तरीय उपकरणबाट सेवाग्राहीलाई छिटोछरितो सेवा दिन सहजता पुग्ने अस्पतालका प्रमुख डाक्टर शक्तिप्रसाद सुवेदीले बताए । उनले प्याकेमेटी«, ए स्क्यान, चश्मा बनाउने अटो एजिङ मेसिन, प्रयोगशाला उपकरण, न्यून दृष्टि उपकरण, जलविन्दुको उपचारका लागि हम्प्री मेसिन, अटोरेपे्रक्टोमिटर तथा उपकरण, अस्पताल हाताभित्रै बालबालिका लागि बाल खेल मैदानसँगै अपाङमैत्री भौतिक संरचना निर्माण गरिएको जानकारी दिए ।

हाल अस्पतालको सेवा सुविधालाई स्तरोन्नती गर्न कर्णाली प्रदेश सरकारसँगै नेपाल नेत्र ज्योति संघको सहकार्यबाट सम्भव भएको अस्पतालका व्यवस्थापक घनबहादुर थापाले बताए । उनले सुर्खेतमा अस्पताल निर्माणभए यता कर्णालीका नागरिकलाई आँखाको सामान्य उपचार गर्न नेपालगञ्ज, काठमाडौं लगायतका स्थानमा जानुपर्ने बाध्यता हटेको जनाए । उनका अनुसार अहिले अस्पतालमै जटिल आँखाको अप्रेशन, शल्यक्रियालगायतका सेवाहरु प्रवाह भईरहेका छन् ।

थप व्यवस्थित बनाउन सरकारले अस्पतालका लागि आवश्यक दक्ष जनशक्ति, आधुनिक उपकरणसँगै भौतिक पूर्वाधार निर्माण तर्फ सहयोग गर्न आवश्यक रहेको नेपाल नेत्र ज्योती संघका कर्णाली प्रमुख मानबहादुर कुवरले औल्याए । उनले सुर्खेत आँखा अस्पतालसँग विगत लामो समयदेखि सहकार्य गर्दै आईरहेकाले आउँदा दिनहरुमा समेत निरन्तरता रहने प्रतिवद्धता जनाए । उनका अनुसार कर्णालीमा पछिल्लो दुई वर्ष यता कोरोना महामारीका कारणले आँखा शिविर सञ्चालन हुन नसक्दा मोतियाबिन्दुका विरामीबढेसँगै अन्धोपन समेत बढ्दै गईरहेको छ ।

प्रकाशित मिति : २०७८ फागुन ११ गते बुधबार
Translate »